राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको ज्यान गएको केन्द्रका प्रमुख डा. प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।

डा. ज्ञवालीका अनुसार प्रत्यारोपण केन्द्रमा पुगेका उनको डायलाइसिस नै गर्न नपाइ मृत्यु भएको हो । उनी आफन्त सहित हिजो दिउँसो अस्पताल पुगेका थिए । यसअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
यसैबीच अस्पताल भक्तपुरमा उपचारको क्रममा एक पुरुषको निधन भएको छ । पाँचथर मिग्लाजुङग गाउपालीका १ घर भई हाल चागुनारायण नगरपालिका ९ बस्ने बर्ष ४७ को नरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।

तर उनको स्वाब परिक्षण गर्दा पीसीआ नेगेटिभ आएकाले शव आफन्तले बुझेर लगेको वीर दल गण सुर्यबिनायकका प्रमुख शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय भक्तपुर जिल्ला पनि कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ ।यस अघि उपत्यकाका अन्य दुई जिल्ला काठमाडौं र ललितपुरमा संक्रमितको संख्या निकै उच्च भएपनि भक्तपुरमा संक्रमणको दर सामान्य रहँदै आएको थियो । तर पछिल्लो समय दैनिक संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।

भक्तपुरमा पनि समुदायस्तरमै संक्रमण फैलिसकेको निष्कर्ष स्वास्थ्य कार्यालयको छ । भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।