भेन्टिलेटर सञ्चालनको माग गर्दै प्रदर्शन


राजविराज, (नेस)
कोरोना संक्रमणले जोखिम बढ्दै गएपछि सरकार जिम्मेवार नबनेको भन्दै आइतबार नेपाली कांग्रेस र नेवि संघका युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन गर्नुपर्ने, कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोस्रो चरणको राहत उपलब्ध गराउनुपर्नेलगायत मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सामाजिक दूरी कायम गरी कांग्रेस र नेविसंघका युवा नेताहरुले गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटमै करिब एक घण्टा प्रदर्शन गर्दै सरकारले उक्त मागहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए।
कांग्रेसका युवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आईसीयूको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताउनुभयो ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई ध्यानमा राखी जनस्तरबाटै भेन्टिलेटर र आईसीयू सञ्चालनको माँग उठिरहेको बेला त्यसमा थप बल पु¥याउन आफूहरु सडकमा उत्रेको उनीहरुको भनाइ छ ।