३० युवाद्वारा सञ्चालित फार्मबाट उत्पादन सुरु


न्युज अफ नेपाल, अर्घाखाँची ।

कोरोना महामारीका कारण देशमा भएको बन्दाबन्दिले धेरै व्यवसाय ठप्प भएका बेला अर्घाखाँचीको पाणिनि गाउँपालिका ७ मा ३० युवाले झन्द्रेक कृषक बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरे । उक्त सहकारी मार्फत सञ्चालित कृषि फार्मबाट अहिले कृषि उत्पादन सुरु भएको छ । फार्ममा अहिले गोलभेडा, बोडी, काक्रो, भिन्डी, भान्टा लगायतका तरकारी उत्पादन भइरहेका छन् ।

उत्पादित कृषि उपजको बिक्री तथा वितरण पनि भएको छ । वर्षातको कारण सडक अवरुद्ध भएर बजारसम्म लैजान केही असहज भए पनि यातायात सेवा उपलब्ध हुने ठाउँसम्म बोकेरै पुर्याउने गरिएको फार्मका व्यवस्थापक कृष्ण बेल्बासेले जानकारी दिनुभयो ।

त्यहाँको तरकारी केही गाउँमै खपत भएको छ भने केही रुपन्देही र कपिलवस्तुका विभिन्न ठाउँमा पुर्याउने गरिएको छ । फार्ममा बाख्रापालन पनि सुरु गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई फार्ममा रोजगारी समेत मिलेको छ । अहिले ६ युवा रोजगारीबाट प्रत्यक्ष लाभान्वित भएका छन् भने आवश्यकताअनुसार अन्य केहीलाई पनि रोजगारी दिने गरिएको बेल्बासेले जानकारी दिनुभयो ।