काभ्रेमा थपिए ३५ कोरोना संक्रमित, स्वास्थ्यकर्मी धेरै


मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्लामा एकै दिन ३५ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको हो । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा प्रुमख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

यस अघि अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी डाक्टर र एक जना कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । उनिहरु उपचारार्थ छन् । ५९ जनाको परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

शिर मेमोरियल अस्पताल बनेपामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भए पनि निको भईसकेको छ । जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ । जस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् । शनिबार मात्रै ५ जना निको भएर घर फर्किएको थिए ।