पाल्पामा प्रभावकारी बन्दै निषेधाज्ञा : सडक र पसल सुनसान, मानिसहरु घर भित्रै


न्युज अफ नेपाल,पाल्पा ।

छिमेकी जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण वढदै गएपछि पाल्पा जिल्ला प्रसासनले लागू गरेको निषेधाज्ञाको पालना भएको छ । स्थानीय प्रशासनले जिल्लामा शुक्रबार मध्यरातिदेखि भदौ १२ गतेसम्मका लागि भनेर जारी गरेको निषेधाज्ञाको कहिले प्रहरी प्रसासनको डर त कहि स्वविवेकले भए पनि पहिलो दिन राम्ररी नै लागू भएको पाइएको हो ।

कोरोना नियन्त्रण र न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार यहाको जनजीवन सुनसान देखियो । जिल्लाको सदरमुकान तानसेन, लगायत व्यापारिक केन्द्रहरु रामपुर, हार्थोक, छहरा, वर्तुङ्ग,प्रभास लगायतका क्षेत्रमा मानिसहरु खासै घरवाहिर निस्केनन भने वजारहरु सुनसान देखिए ।

जिल्लाका सडकहरु पनिः सुनसान देखिए भने। सडकमा अत्यावाश्यक सवारी साधन बाहेक अन्य सवारी साधन गुडेनन । सडकमा पैदल यात्रुसमेत अत्यावस्यक कामवाहेर घरवाट ननिस्केर निषेधाज्ञाको घोषणालाई सफल वनाउन लागेको देखियो । प्रहरीले निषेधाज्ञा उल्लघङ्न गर्नेलाई अनावश्यक रूपमा घरबाहिर निस्किनेलाई सुरक्षाकर्मीले फुटपाथमै सम्झाई बुझाई गरेको र यसलाई पालना गराउन ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनु भयो ।

उहाका अनुसार पहिलो दिन अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई केही समय सम्झाई बुझाई छाड्ने गरिएको छ भने केही मोटरसाईकलहरु नियन्त्रणमा लिइएको छ । जिल्लामा अत्यावश्यक सेवाका पसलहरू बिहान मात्र खुलेको र मानिसहरू घरमै बसेर निषेधाज्ञाको पालना गरिरहेको पाइयो  ।

गएको बिहीबार बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकले संक्रमण रोक्न खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सेवा र सवारी सञ्चालन एक साता बन्द गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा अन्र्तगत अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न नपाइने तर खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने उल्लेख छ ।

त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्यसामग्री बाहक सवारी साधन, औषधी बोकेका सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेका सवारी साधन, झण्डा बाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधनहरु चलाउन पाउने नियम वनाइएको छ ।

त्यस्तै , सार्वजनिक यातायात (जस्तैः बस, ट्याक्सी, जीप लगायत), निजी सवारी साधन (चार पाङ्ग्रे, दुई पाङ्ग्रे) सवारी साधनहरु चलाउन रोक लगाइएकोले पनि सडक र पसल सुनसान देखिएको हो । उता घरमै वसिरहेकी एक जना ४० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगरपालिका ४ सिल्खानटोल क्षेत्रमा गरिएको टोलसिलका कारण पनि मानिसहरु त्रसित छन जसका कारण पनि निषेधाज्ञा प्रभावकारी भएको छ ।