काभ्रेमा संक्रमित थपिएनन्,कोरोना जितेर घर फर्किए

बनेपामा ५० बेडको आईसोलेसन


मोतीराम तिमल्सिना,काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लामा शनिबार साँझसम्म कोरोनाबाट संक्रमित हुने नयाँ विरामीको संख्या थपिएन बरु संक्रमणका कारण उपचारार्थ ब्यक्तिहरु घर फर्किएका छन् । संक्रमितहरुको संख्या १ सय ४ पुगेको छ । जसमा २ जनाको निधन भईसकेको छ । धुलिखेल अस्पतालमा १८ पुरुष र १९ महिला गरी ३७ जना संक्रमितका विरामीको आईसोलेसनमा उपचार भईरहेको छ ।

जसमा काभ्रे बाहेकका अन्य जिल्लाबाट संक्रमित भई आएका चारजना विरामीहरु छन् । बनेपाको शिर मेमोरियल अस्पतालमा ८ जना संक्रमित ब्यक्तिहरु उपचार गराईरहेका छन् । सुत्केरी हुन आएकी महिलामा कोरोना देखिए पछि उनको पनि आईसोलेसनमा राखेर उपचार भईरहेको छ । बनेपा नगरपालिकाले स्थापना गरेको आईसोलेसनमा ३ जना विरामीहरु उपचार गराईरहेका छन् ।

नमोबुद्ध नगरपालिकाको मेथिन्कोट अस्पतालमा तीन जना संक्रमितहरु उपचार गराईरहेका छन् । स्पाईनल इन्जुरी अस्पतालमा एक जना स्वास्थ्यकर्मी उपचार गराईरहेका छन् । प्रहरी अस्पताल काठमाडौमा ६ जना र होम आईसोलेसनमा बसेका ५ जना संक्रमितहरु निको हुँदै छन् ।

जिल्लामा संक्रमित मध्ये ५४ जना अझै आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
शनिबार एकै दिन पाँच जना विरामीहरु घर फर्किएका छन् । शनिबार कोरोना जितेर फर्केनेहरुले उच्च मनोबल भए कोरोना जित्न सकिने प्रतिक्रिया दिएका छन् ।

हालसम्म जिल्लाभरका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ४७ जना पुरुष, ६ जना महिला गरि ५३ जना मानिसहरू रहेका छन् । हालसम्म १३ हजार १ सय ५८ स्वाब संकलन भएकोमा १२ हजार ८ नेगेटिभ देखिएको छ भने ९ सय ३४ जनाको पोजेटिभ देखिएको छ । जिल्लामा संक्रमित मध्ये नेपाल प्रहरी २२, स्वास्थ्यकर्मी १६, बैदेशिक रोजगारबाट फर्किएका २५, जनप्रतिनिधि १, कानुन ब्यवसायी १, सर्वसाधारण ३८, अस्पतालका कर्मचारी एक जना संक्रमित छन् ।

७ बर्षिय बालक देखि ९८ बर्षिय सम्म संक्रमणको शिकार बनेका छन् । संक्रमण बढ्दै गए पछि स्थानीय सरकारले आफै आईसोलेसन वार्ड तयार गरेका छन् । बनेपा नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गरी विहिबारबाट विरामीहरु राख्न थालेको छ । डाक्टर सहितको सुविधा रहेको उक्त आईसोलेसनमा विहिबार ५ जना विरामी भर्ना गरिएको बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले जानकारी दिनु भएको छ ।

जिल्लामा स्थानीय सरकारहरुले निर्माण गरेको आईसोलेसन वार्ड यति धेरै र ब्यवस्थित संख्यामा बनेपाको पहिलो हो । अन्य स्थानीय तहरुले पनि आईसोलेसन बेड निर्माणको तयारी गरेका छन् । धुलिखेलले २५, पनौतीले १०, पाँचखालले ६, नमोबुद्धले ६ बेडको आईसोलेसन वाड तयार गरिसकेका छन् ।