सोह्र लाख फ्याँकेर चालक फरार


न्युज अफ नेपाल,हेटौंडा ।

प्रहरीलाई देखेपछि मोटरसाइकल चालक १६ लाख रुपियाँ बाटोमै फ्याँकेर भागेका छन् । शनिबार विहान करिब ८ बजे बाराको महागढीमाई नपा वडा–७, बेनौलीस्थित सडकमा प्रहरी चेकिङ टोली देखेपछि ती चालक पैसा फ्याँकेर भागेका हुन् । १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी नेपाली रुपियाँ सोह्र लाख फ्याँकेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

पश्चिम बेनौली चोकबाट आएको मोटरसाइकल रोकी चेक गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको रातो पहेंलो रंगको झोला फ्याँकेर फरार भएका थिए ।

बरामद गरी रकम फ्याँकेर फरार चालकको खोजतलास शुरु गरिएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको बरामद रकमका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।