अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान


पोखरा। कोभिड–१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ । गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ । भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ । अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ । अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताउनुभयो ।