उपाधि भिडन्तमा बार्यन र पीएसजी


लन्डन, (एजेन्सी)
यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीबीच रोचक भिडन्त हुने भएको छ।
बुधबार राति बार्यनले सेमिफाइनलमा फ्रेन्च क्लब लियोनमाथि एकपक्षीय ३–० को जित निकालेपछि उपाधि भिडन्तको टुंगो लागेको हो। जितसँगै बायर्नले फाइनलमा पीएसजीको सामना गर्ने भएको छ। यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनलमा नेयमारको टोली पिएसजी र जर्मन क्लब आरबी लिपजिगलाई ३–० नै हराएर फाइनल प्रवेश गरेको थियो। फाइनल खेललाई विश्व फुटबलका महाशक्ति राष्ट्र जर्मनी र फ्रान्सभित्रका हेभिवेट क्लबहरूको भिडन्तका रूपमा हेरिएको छ।
पोर्चुगलको लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा भएको रोमाञ्चक खेलमा लियोनले निकै राम्रो प्रदर्शन गरे पनि बार्यनले पकड जमाएको खेलमा स्कोर गर्न नसक्दा नतिजा गुमाउनु परेको थियो। बार्यनलाई जिताउन सेर्गे गेनाब्री नायक बने। टोलीका लागि दुईवटै गोल उनले गरेका थिए। यसअघि अन्तिम आठमा बार्सिलोनाविरुद्ध ८–२ फराकिलो जित निकाल्दाको तुलनामा बार्यनले लियोनविरुद्ध केही फितलो प्रदर्शन गरेको थियो।
बार्यनका लागि खेलको १८औं मिनेटमा गेनाब्रीले जोसुवा किमिचको पासमा पहिलो गोल गरेका थिए। गेनाब्रीले डी एरियाबाट लियोनका डिफेन्डरलाई बिट गर्दै हानेको कडा प्रहारले सुन्दर ढंगले जाली चुमेको थियो।
त्यसपछि बार्यनका लागि खेलको ३३औं मिनेटमा गेनाब्रीले नै व्यक्तिगत रूपमा दोस्रो गोल गर्न पुगे। बक्सभित्र बार्यनको आक्रमणमा लियोनका गोलकिपरले बल रोक्न ठूलै संघर्ष गरेका थिए। तर, उनीबाट रिबाउन्ड भएको बलमा अनमार्क रहेका गेनाब्रीले सहजै गोल गरेपछि पहिलो हाफसम्म बार्यन २–० ले अघि रह्यो।
दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो। तर, लियोन स्कोरविहीन बन्दा बार्यनले थप १ गोल ग¥यो। बार्यनका लागि खेलको ८८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले हेडिङमार्फत सुन्दर गोल गरेपछि बार्यनको ३–० को जित पक्का भएको थियो। उनले किमिचको फ्रि किक प्रहारमा डी बक्सभित्रबाट हेडिङ गोल गरेका थिए।
त्यसअघि पनि बार्यनले पटक–पटक गोलका अवसर बनाएको थियो। यता, लियोनले दोस्रो हाफमा बार्यनमाथि दबाब बनाएर उत्कृष्ट प्रदर्शन गरे पनि पाएको अवसर सदुयोग गर्न नसक्दा खेलमा फर्किने उसको प्रयास सफल हुन सकेन। दोस्रो हाफमा लियोनका खेलाडीले कम्तीमा तीनपटक गोलको अवसर गुमाएका थिए।
७५औं मिनेटमा गेनाब्रीको स्थानमा मैदान छिरेका फिलिपे कोउटिन्होले मैदान पसेको केहीबेरमै गोल गरेका थिए। तर, अफसाइड भएको भन्दै रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन्।
अब प्रतियोगिताको फाइनल खेल आइतबार राति हुनेछ, जहाँ पीएसजी पहिलोपटक उपाधि जित्दै युरोपियन च्याम्पियन बन्ने दाउमा हुनेछ। यता, बार्यन भने बार्यन छैठौं उपाधिको खोजीमा हुनेछ। पीएसजी जर्मन क्लब लिपजिगलाई ३–० ले नै हराएर फाइल पुगेको थियो। पीएसजी ५० वर्ष लामो इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ भने बार्यन समग्रमा छैठौंपटक फाइनल पुगेको हो। बायर्नले अन्तिमपटक सन् २०१३ मा फाइनल खेलेर उपाधिसमेत जितेको छ।
बार्यन च्याम्पियन्स लिग ५ पटक जितिसकेको टोली हो। २०१३ मा यो उपाधि जितेयता बार्यन कहिल्यै पनि फाइनलमा पुग्न सकेको थिएन। बायर्न ७ वर्षपछि यसपटक फाइनल पुग्न सफल भएको छ।
उपाधि भिडन्त आइतबार राति पोर्चुगलको लिस्बन सहरस्थित इटाडियो डा लुइज रंगशालामा हुनेछ। कोरोना भाइरसका कारण प्रभावित प्रतियोगिताको फाइनल खेल पनि दर्शकविना बन्द रंगशालामै हुनेछ। यसअघि टर्कीको इस्तानबुलमा तय भएको फाइनल खेल कोरोनाका कारण पोर्चुगलमा सारिएको थियो।
लेवान्डोस्कीले मेसीलाई पछि पारे
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा १५ गोलको आँकडा पूरा गर्दै मेसीको गोललाई पछि पारेका छन्। बुधबार राति फ्रेन्च क्लब लियोनविरुद्ध भएको सेमिफाइनलमा १ गोल गरेसँगै उनले यो सिजनमा १५ गोल पूरा गरेका हुन्। बार्यनले ३–० ले जितेको खेलमा लेवान्डोस्कीले खेलको ८८औं मिनेटमा गोल गरेका थिए।
पोलिस फरवार्ड लेवान्डोस्कीले जारी सिजनमा कुल ९ खेलबाट १५ गोल गरेका छन्। उनले च्याम्पियन्स लिगमा स्पेनिस बार्सिलोनाका लिओनल मेसीले आफ्नो करिअरमा कुनै पनि सिंगल सिजनमा गरेको सर्वाधिक १४ गोललाई पछि पारेका छन्। मेसीले सिजन २०११–१२ मा कुल १४ गोल गरेका थिए, जुन मेसीले यस प्रतियोगितामा हालसम्म सिंगल सिजनमा गरेको सबैभन्दा धेरै गोल हो।
यता, लेवान्डोस्कीले यस प्रतियोगिताको इतिहासमा सिंगल सिजनमा सर्वाधिक धेरै गोल गर्ने इटालियन युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोको तेस्रो राम्रो गोल रेकर्ड १५ सँग बराबरी गरेका छन्। यसअघि सिंगल सिजनमा सर्वाधिक गोल गर्ने तीन सिजनको रेकर्ड रोनाल्डो एक्लैको नाममा थियो।