कोरोना क्वारेन्टाइनः कतै स्वस्फूर्त, कतै छिमेकीको अवरोध


नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा–९ मा जनस्तरबाट १५ बेडको क्वारेन्टाइन सञ्चालन भइरहँदा मकवानपुरमा प्रहरीका लागि क्वारेन्टाइन स्थापना गर्ने क्रममा भने छिमेकीले अस्वीकार गरेका छन् ।
यसले गर्दा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा २४ सै घण्टा ड्युटीमा खटिने प्रहरीलाई क्वारेन्टाइन अभाव भएको छ । मकवानपुरमा २० जनाभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
दिनानुदिन प्रहरीमा संक्रमण बढेपछि मकवानपुर प्रहरीलाई क्वारेन्टाइनका लागि आवश्यक रहेको स्थान खोजी भएको थियो । प्रहरीको आग्रहअनुसार कमान्ड पोस्ट बैठकमा छलफल भएबमोजिम हेटौंडा–२ मा रहेको पल्पसा सभागृहलाई क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयले गुनासो गरेपछि उक्त स्थानमा क्वारेन्टाइन बनाउन नसकिएको हो । मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको उक्त सभाहलमा क्वारेन्टाइन बनाउने प्रयत्न गर्दा स्थानीयले गुनासो गरेपछि आफूहरूले उक्त काम गर्न नसकेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।
अन्य अबस्थाभन्दा हाल प्रहरीको मुख्य ड्युटी कोरोनाबाट स्थानीयलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा छ । यस्तो बेलामा घरबाट फर्किएका प्रहरीलाई क्वारेन्टाइन अभाव भएको जानकारीपछि पल्पसालाई क्वारेन्टाइन बनाउन सकिन्छ कि भनेर प्रयास गरियो । तर, छिमेकीको गुनासोपछि अन्यत्र राख्ने निर्णय गरिएको छ ।’ –उहाँले भन्नुभयो ।
स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बस्ने व्यवस्थाका लागि अनुरोध भयो । तर, मिलाउन गाह्रो भएको छ । ‘यही तरिकाले हामी सबैले कोरोनाबाट उन्मुक्ति पाउन मुस्किल छ । समय अप्ठेरो छ, यस्तो बेलामा जुटेर परिस्थितिको सामना गरौं । बेलैमा हामी सबै सच्चिनुका साथै मानवीयता प्रस्तुत गरौं ।’ –उहाँले भन्नुभयो ।
हेटौंडा–९ मा भने जनस्तरबाट १५ बेडको क्वारेन्टाइन सञ्चालन भएको छ । वडा कार्यालयको व्यवस्थापनमा सञ्चालित क्वारेन्टाइन विभिन्न व्यक्ति एवं संघ–संस्थाको सहयोगद्वारा सञ्चालनमा रहेको हो ।
वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले वडाको व्यवस्थापन र विभिन्न व्यक्ति एवं संघ–संस्थाको सहयोगमा क्वारेन्टाइन सञ्चालित रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले वडामा बाहिरबाट आउने नागरिकको संख्या बढ्दै गएको र संक्रमण फैलने जोखिम बढ्ने महसुस गरेर बाहिरबाट आउने वडाभित्रका नागरिकलाई राख्न वडामै क्वारेन्टाइन सञ्चालन गरिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरबाट क्वारेन्टाइन निर्माणका सामग्री प्राप्त भएपछि क्वारेन्टाइन शुरू गरिएको हो । ‘जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको सहयोगमा जिससबाट आन्तरिक व्यवस्थापनका सामग्री प्राप्त ग¥यौं । बाँकी विभिन्न व्यक्ति एवं संघ–संस्थाबाट सहयोग भएको छ ।’ –उहाँले भन्नुभयो ।
दिव्यज्योति प्राथमिक विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा छ । विद्यालयबाट क्वारेन्टाइन हटाउने सरकारी निर्णयअनुसार अन्यत्र व्यवस्थापन गर्ने तयारी भएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा हालसम्म करिब ५० जनाले सेवा लिइसकेका छन् ।