गौरीशङ्करको दश वर्षमा दश उपलब्धि


नेपाल समाचारपत्र, दोलखा

रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रका साविकका २२ वटा गाविस (हाल २ नगरपालिका र ८ गाँउपालिकाका २५ वटा वडा) समेटेर २०६६ सालमा घोषणा गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रले स्थापनाको १० वर्षमा गरेको १० उपलब्धि सार्वजनिक गरेको छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रले १० वर्षको अवधिमा मुख्यतः भौतिक पूर्वाधार निर्माण, समिति तथा उपसमिति गठन र कार्ययोजना हस्तान्तरण, राहत तथा पूनर्निर्माणमा सहयोग, वैकल्पिक इन्धन, संरक्षित शिक्षा, पर्यटन प्रवद्र्धन, सरसफाइ तथा स्वच्छता अभियान, आयआर्जनमा सहयोग, अध्यन तथा अनुसन्धान र जनचेतना तथा क्षमता अभिवृद्धि जस्ता १० वटा उपलब्धि हासिल गरेको संरक्षण प्रमुख सत्यनारायण शाहले बताउनुभयो ।

संरक्षण क्षेत्रको भौतिक पूर्वाधारतर्फ दोलखाको विगु गाउँपालिकास्थित सिंगटी बजारमा प्रधान कार्यालय स्थापना, रामेछापको शिवालय र सिन्धुपाल्चोकको चाकुमा इलाका संरक्षण कार्यालय स्थापना, दोलखाको सिंगटी र कालिञ्चोक, सिन्धुपाल्चोकको चाकु र रामेछापको शिवालयमा पर्यटन सूचना केन्द्र तथा जाँच चौकी स्थापना गरिएको कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्रभित्र पर्ने तीन जिल्लाको साविकको २२ गाविसमा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गरिएको र समितिअन्तर्गत ८७ वटा संरक्षण वन उपभोक्ता समिति गठन गरिएको जनाइएको छ । १५ वटा व्यवस्थापन समितिको आफ्नै भवनसमेत रहेको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले जंगली वन्यजन्तुले आक्रमण गरी घाइते बनाएको १९ जना मानिस र १ सय ४९ वटा घरपालुवा जनावरको क्षतिपूर्तिबापत १४ लाख ४९ हजार २९ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको शाहले बताउनुभयो ।

त्यसै गरी, गौरीशङ्कर संरक्षण क्षेत्रले २५ वटा विद्यालयमा संरक्षण शिक्षा लागू गरेको, विद्युतीकरणका लागि काठको पोल विस्थापित गर्दै २ हजार १ सय ४२ वटा फलामे पोल वितरण गरेको, ५४ किलोमिटर पर्यटन पदमार्ग मर्मत गरेको, ५ सय ३ वटा सूचना बोर्ड राखिएको र ९४ घरमा होमस्टे सञ्चालनका लागि सहयोग गरेको आयोजना प्रमुख शाहले बताउनुभयो ।

संरक्षण क्षेत्रले सरसफाइका लागि ३५ ठाउँमा खानेपानी मर्मत, ठूला तथा साना गरी ३७ वटा खानेपानीको ट्याङ्की वितरण, ९ सय ४८ घरधुरीमा नमुना सौचालय निर्माण र फोहोर व्यवस्थापनका लागि १ सय ७ वटा इन्सिनेरेटर निर्माण गरिएको आयोजनाले जनाएको छ । आय–आर्जनका लागि किसानलाई तरकारी तथा फलफूलको बिरुवा वितरण, ६२ घार मौरी वितरण, १८ वटा हरित उद्यम स्थापना र कोसेली घरको निर्माणसमेत गरिएको जनाइएको छ ।

आयोजनाले रोल्वालिङ तथा लप्ची क्षेत्रमा क्यामेरा ट्रयापिङको माध्यमबाट विश्वमै दुर्लभ हिमचितुवा, हाब्रेसहितका आठवटा बन्यजन्तु रहेको पहिचान गरिएको तथा जनचेतना अभिवृद्धिका लागि जिल्लाबाट प्रशारणमा रहेका रेडियोहरूबाट गौरीशङ्कर दर्पण रेडियो कार्यक्रम प्रशारण तथा वार्षिक मुखपत्र गौरीशङ्कर दर्पणको प्रकाशनसमेत गरिएको आयोजना प्रमुख शाहले बताउनुभयो ।

दश बर्षको अवधिमा आयोजनालाई तीनवटै जिल्लाको राजनीतिक दल, सरकारी एवं गैरसरकारी निकाय, सञ्चारकर्मी, अधिकारकर्मी र सर्वसाधरण सबैले सहयोग गरेको पनि आयोजनाले जनाएका छ ।