दुई तहका क्वारेन्टाइन खाली

आठ तहका क्वारेन्टाइनमा १ सय ६३ जना


गणेश घिमिरे, इलाम
इलाम जिल्लाका दशवटै स्थानीय तहमा स्थापना गरीएका क्वारेन्टाइनहरु खाली हुन थालेको छ । माङसेबुङ्ग र फाकफोकथुम गाउँपालिकाका क्वारेन्टाइनहरु खाली भइसकेको छ । बाँकी आठवटा स्थानीय तहमा रहेका क्वारेन्टाइनहरु प्नि खाली हुने क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार जिल्लामा रहेका क्वारेन्टाइनमा हाल एकसय ६३ जना रहेका छन् । त्यसमा सबैभन्दा बढी माईनगरपालिकाको गरुवा बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा ५० जना रहेका छन् । त्यसैगरी माईजोगमाई गाउँपालिकामा ७ जना, सूर्योदयन गरपालिकामा ३८ जना, देउमाई नगरपालिकामा १३ जना, सन्दकपुर गाउँपालिकामा ४ जना, इलाम नगरपालिकामा १४ जना, चुलाचुली गउँपालिकामा ११ जना र रोङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा २७ जना रहेका छन् ।
अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएकालाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टाइनमा बस्नेको सङख्या निरन्तर घट्दै गइरहेको कार्यालयकाकोभिड १९ फोकल पर्सन बिमल बरालले बताउनुभयो ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण भएपछि बिस्तारै संक्रमण बढ्दै गएपछि देशैभरका स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरीएको थियो । बिशेष गरेर भारत तथा तेस्रो मुलुकबाट आएका नागरीकलाई क्वारेन्टाइनमा राखिँदै आएको छ । यता इलाम जिल्लामा हालसम्म ३ हजार ८ सय ७९ जनाको पोलिमरेज चेन्ज रियाक्सन –पिसिआर) परीक्षण भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि जिल्लामा पिसिआर परीक्षणलाई तिब्रता दिइएको थियो । जिल्लामा स्वाब संकलन गरेर पिसिआर परीक्षण गरेर पठाइएकामध्ये अब ६ सय ६१ जनाको रिपोर्ट आउन बाँकी छ ।
सशस्त्र प्रहरीको गणमै कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय सहित जिल्लाका स्थानीय तहहरुले नै भिटिएम किट खरीद गरेर स्वाब संकलन कार्यालाई तिब्रता दिएका थियो । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी इलामनगरपालिकामा ८ सय ५४, सूर्योदय नगरपालिकामा ८ सय ८२ र रोङ गाउँपालिकामा ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ । बाँकी स्थानीय तहमा पनि एकसय भन्दा माथि नै पिसिआर परीक्षण भइसकेको छ ।
परीक्षण गरीएकामध्ये ८२ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका मध्ये ५५ जना उपचार पछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।