कुस्मा र जलजलाका सबैको रिपोर्ट ‘नेगेटिभ’


दुर्गाप्रसाद शर्मा, पर्वत
कोरोना भाइरस संक्रमण समुदायमा गए वा नगएको पत्ता लगाउन पर्वतमा समुदायस्तरमा कोरोना परीक्षणको काम तीव्र पारिएको छ।
कुनै माध्यमबाट समुदायका एक व्यक्तिमा संक्रमण भएको भए त्यही व्यक्तिमार्फत समुदायमा महामारी फैलिन सक्ने जोखिमलाई नियन्त्रण गर्ने प्रयासस्वरुप समुदायस्तरमा परिक्षण तीब्र पारिएको हो ।
समुदायमा संक्रमणको अबस्था बुझ्नका लागि पछिल्ला तीन दिनमा कुस्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकामा नमुना संकलन गरिएको छ । कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा गरिएको १ सय ८६ जनाको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । मोदी गाउँपालिकाका रिर्पोट आउँन बाँकी छ ।
कुस्मा नगरपालिका जिल्लाको सदरमुकाम समेत भएको र पोखरा तथा अन्य जिल्लाबाट ठुलै संख्यामा मानिसहरु आउने जाने भएकाले समुदायस्तरमा संक्रमण फैलिएको हुन सक्ने आशंका थियो । ‘कुस्मा र जलजलामा गरिएको नमुना परिक्षणले समुदायमा संक्रमण छैन भन्ने देखिएको छ।’ प्रजिअ रेग्मीले भन्नुभयो ‘अब सतर्कता अपनाउन सक्यौ भने जिल्लालाई सुरक्षित राख्न सकिन्छ भन्ने बिश्वास छ।’
समुदायमा नमुना संकलनका क्रममा फरक पेसा र व्यवसायमा संलग्न हुँदै आएकाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत तथा जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) का सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार सोमबारे जलजला गाउँपालिकामा पुगेर विभिन्न पेसामा रहेका ६८ जनाको स्वाब संकलन गरिएको थियो। शिक्षक, विद्यार्थी, सवारी चालक, जनप्रतिनिधि सरकारी कर्मचारी लगायतको स्वाब लिइएको थियो। गाउँमा रहेका कृषकदेखि प्रहरीको हिरासतमा रहेकाको पनि स्वाब लिइएको छ।
हिरासतमा रहेकाको पिसिआर नगरेसम्म बयानका लागि अदालतभित्र छिर्न नै पाइँदैन। यस्तै मंगलबार सदरमुकाम कुस्मामा रहेको पर्वत कोरोना अस्पतालमा १ सय १७ जनाको स्वाब संकलन गरिएको थियो । तरकारी व्यवसायी, औषधि व्यवसायी, खुद्रा व्यपारीहरु, पत्रकार, सर्वसाधारण, सरकारी कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी लगायतको स्वाब संकलन गरिएको थियो । समुदायमा बढी हिमचिम गरेकाहरु सङ्क्रमणको उच्च जोखिममा रहने भएकाले त्यस्ता व्यक्तिहरु छनोट गरेर स्वाब सङ्कलन पर्वत अस्पतलाका प्रमुख डा. शिशिर देबकोटाले बताउनुभयो । मोदीमा ५६ जनाको श्वास परिक्षणका लागि पोखरा पठाइएको छ ।
पर्वतमा हालसम्म संक्रिमतको सक्रिय केसको संख्या सात रहेको छ। कुल सङ्क्रमित १ सय ५ जनामध्ये ९८ जना उपचारपछि निको भएर घर फर्किएका छन भने ७ जनाको कोरोना अस्पताल अस्थायीमा उपचार चलिरहेको छ। तर उनीहरुमा कुनै पनि लक्षण नदेखिएको र अवस्था सामान्य रहेको डा. देवकोटाले बताउनुभयो ।