निषेधाज्ञा उल्लंघन गर्ने २ सय ८० प्रहरी नियन्त्रणमा


भक्तपुर, (नेस)
भक्तपुरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय ८० जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही गरेको छ । नियन्त्रणमा लिएका मध्य पुरुष दुई सय ३७ जना र महिला ४३ जना रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । अटेर गरी बिना काम बाहिर निस्कनेलाई दुई घण्टा होल्डिङमा राख्ने गरिएको प्रहरीले जनाएको छ।
बिहानैदेखि प्रहरीले कडा निगरानीमा निषेधाज्ञालाई पालना गराइराखेका छन् । त्यसैगरी निषेधाज्ञा तोड्ने सवारी साधनमा १ सय १५ वटा रहेको गिरीले जानकारी दिनुभयो । जसमा मोटरसाइकलमा एक सय १२ वटा र साना सवारी ३ वटा रहेका छन्। बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञाको पालना गराउन शहरका चोकचोकमा प्रहरी खटिएका छन् ।
बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई उभ्याउने गरेका छन् । त्यस्तै सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई होल्ड गरिएको छ ।
निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सर्वसाधारणलाई यताउता हिँडडुल गर्न बन्देज लगाइएको छ । त्यस्तै अत्यावश्यक काममा जाने भनी तोकिएका व्यक्तिहरुबाहेक अरु कसैले सवारीसाधन चलाउन पाइँदैन ।
यसरी कडा व्यवस्था गरिँदा पनि अनावश्यक रुपमा सडकमा आउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीको भनाई छ ।यसरी नियन्त्रणमा लिइएकाहरुलाई बिहीबार पहिलो दिन भएकाले दुई घन्टाभन्दा बढी नियन्त्रणमा राखी छोडिएको भएपनि भोलीदेखि नियन्त्रणमा लिएर कारवाही गर्ने परिसरका प्रहरी उपरीक्षक तारादेबी थापाले बताउनुभयो ।