कृषकलाई मल उपलब्ध गराउन सांसद दवाडीको माग


काठमाडौं, (नेस)
नेपाली कांग्रेस गोरखाका प्रदेश सांसद एवं गण्डकी प्रदेशका प्रवक्ता प्रकाशचन्द्र दवाडीले सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताउनुभएको छ ।
उहाँले सो कुरा एक विज्ञप्तिमार्फत हरितालिका तीज–२०७७ शुभकामना दिने क्रममा बताउनुभएको हो । उहाँले अहिले देश कोभिड–१९ को महामारीसँगै ज्यादै अफ्ठयारो परिस्थितिमा अगाडि बढिरहेको बताउँदै यस्तो अफ्ठ्यारो परिस्थितिमा सबै सुरक्षित भएर घरभित्रै सबैलाई तीज मनाउन आग्रह गर्नुभएको छ ।
उहाँले धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘पूर्वतयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रस्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गर्ने कार्य गरेको छ ।’
उहाँले सरकारले सोझा जनतालाई विगतको बेलाजस्तै आश्वासन देखाएर जनतामाथि भ्रमको खेती त गरिरहेको छैन भनी प्रश्न गर्नुभएको छ । यसले आफूलाई चिन्ता लागेको उहाँले उल्लेख गर्नुभएको छ ।
गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली बिग्रने, धान उत्पादनमा ह्रास आउने जसका कारण भविष्यमा भोकमरी हुने अवस्था नआउला भन्न सकिन्न भन्दै उहाँले कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने, खाद्यान्नको अभाव हुने देखिएको उल्लेख गर्नुभएको छ ।
मल आयातमा पनि कोभिड–१९ का सामग्री ल्याउँदाजस्तो अनियमितता हुने त होइन भनी प्रश्न गर्नुभएको छ ।
उहाँले सरकारलाई कृषकको पीडाबोध गरी तत्काल निकासको बाटो खोजेर चाँडो मल आयात गरी सहुलियतदरमा मल उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत उहाँले विज्ञप्तिमार्फत माग गर्नुभएको छ ।