सात जनाको भेन्टिलेटरमा उपचार


काठमाडौं, (नेस)
नेपालमा कोरोना संक्रमण वृद्धि भएसँगै के शहर के गाउँ देशैभरि कोरोना संक्रमितको संख्या उच्च भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार १ सय ३५ जना कोरोना संक्रमित आईसीयू र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । भेन्टिलेटरमा उपचार भइरहेका ७ जना बागमती प्रदेशमा छन् ।

प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२ जनाको उपचार आईसीयूमा भइरहेको छ । बिहीबार काठमाडौं उपत्यकामा २ सयसहित देशभर ७ सय ७ जनालाई कोरोना पुष्टि भएको छ भने ६ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर कोरोना संक्रमितको संख्या २९ हजार ५ सय ४५ पुगेको छ । सोमध्ये निको हुनेको संख्या १७ हजार ९ सय ६४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ भने ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।