निषेधाज्ञालाई तीजको श्राप

0
Shares

कपिल काफ्ले, तीज नेपाली महिलाका लागि अन्तर्राष्ट्रिय नारी दिवसभन्दा पनि प्यारो पर्व हो । तर, निषेधाज्ञा र लकडाउनका कारण यस वर्ष महिलाले तीज मनाउन पाएनन्, बिहीबारको दर,शुक्रबारको व्रत र आइतबारको ऋषिपञ्चमी पूजा सबै प्रभावित भयो । तीजको धार्मिक पक्ष विवादास्पद भएपनि सांस्कृतिक परिवर्तनका लागि तीजको अवसर पारेर गरिने कार्यक्रममा असर पर्दा लाखौं महिलाले अदृश्य लाभबाट वञ्चित हुनुप¥यो ।

कोरोना भाइरसको संक्रमण बढेको कारण देखाउँदै ३० भन्दा बढी जिल्ला अहिले निषेधाज्ञा वा लकडाउनको अवस्थामा छन् । संघीय सरकारले स्थानीय निकायलाई आफ्नो वस्तुस्थितिको विश्लेषण गर्दै बन्दाबन्दीको घोषणा गर्नसक्ने व्यवस्था गरेका कारण प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका छन् । काठमाडौं उपत्यका पनि बिहीबारदेखि निषेधाज्ञाको अवस्थामा छ ।

संक्रमणलाई जति भयावह रुपमा लिइएको छ, त्यसअनुसारको असर भने देखिन्न । काठमाडौं उपत्यकामा २५ लाख जनसंख्या रहेको मानेर तीन हजार संक्रमितलाई प्रतिशतमा हेर्दा शून्य दशमलब एक–दुई प्रतिशत हुनआउँछ (यसलाई शतप्रतिशत बढाएर ५० लाख मान्दा पनि शून्य दशमलब दुई–चार प्रतिशत मात्र हुनेहो) । बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिले पारेको क्षति वा अन्य परम्परागत रोगले गर्दैआएको विनाशसँग तुलना गर्दा आत्तिनुपर्ने अवस्था छैन ।

तर, अरु विनाश चुपचाप आउँछन् तर कोभिड– १९ ढोलक बजाएर आएको छ, ढोलकको आवाज सुन्नासाथ हाम्रो स्वास फुल्न थाल्छ । भौतिकभन्दा मनोवैज्ञानिक त्रास बढी छ । कसैको नाङ्गो नाक देखियो भने हामी आतंकित हुन थालेका छौं । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका स्थानीय निकायका नेताहरुको दबाबका कारण प्रजिअहरुले हालका लागि एक साताको निषेधाज्ञा जारी गरेका छन् ।

तर निषेधाज्ञाका लागि दबाब दिने फोरमका नेताहरु आफै पूर्वतयारीमा भने कमजोर देखिएका छन् । जनताले उपत्यकाका स्थानीय तहको विरोध गरेपछि बल्ल मेयर फोरमले पाँच हजार क्षमता भएको आइसोलेशन सेवा केन्द्रको निर्माण गर्ने तयारी थालेको छ । बिहीबारसम्मको अभिलेखमा काठमाडौंमा मात्रै करिब १८ सय संक्रमित पुगेका छन् । कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने हो कि भनेर काठमाडौं उपत्यकावासी चिन्तित भइरहेका बेला निषेधाज्ञाको पहिलो दिन निकै सफल पनि देखिएको छ ।

जनताले साथ दिएका छन् । तर, विनाभौतिक पूर्वाधार र आवश्यक तयारी निषेधाज्ञा जारी भएको राजधानीमा रहेका विपन्न परिवार र मजदुर वर्गको अवस्थाले प्रमाणित गरेको छ । कोरोना संक्रमण शहर केन्द्रित छ, बाक्लो बस्तीमा यसको बास देखिन्छ । राजधानीमा जस्तै संक्रमितको संख्या बढ्न थालेपछि वीरगन्जमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा गत शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कायम छ ।

विभिन्न दलका प्रतिनिधिसँग छलफल गरेर प्रशासनले निषेधाज्ञाको घोषणा गरेको जनाइएको छ । सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाएर कानुन उल्लंघन गर्नेहरू बढ्न थालेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दिनभरि आफैं गस्तीमा हिंड्न थाल्नुभएको समाचार छ ।

कोरोना संक्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् । तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । झापा, मोरङ मात्र होइन छिमेकी भारतसँग सिमाना जोडिएका प्रायः सबै जिल्लामा संक्रमण अधिक छ । भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बिहीबारसम्म करिब एक हजार जना कोरानाबाट संक्रमित रहेको बताइएको छ ।

सबैभन्दा बढी रौतहट र सिरहा जिल्ला प्रभावित छन्। पश्चिम नेपालको अवस्था पनि उत्तिकै खराब छ । विश्वमा कोरोनालाई जित्ने मुलुकबाट नेपालले पाठ सिक्नसक्छ । न्युजिल्याण्ड, आइसल्याण्ड, तान्जानिया, फिजी, मोन्टिनेग्रो, दक्षिण कोरियाआदि मुलुकले कोरोनामाथि विजय प्राप्त गरेका छन् ।

छिमेकी चीनले पनि कोरोनामाथि विजय पायो, यद्यपि उसको उपचार विधि अधिनायकवादी भयो भनेर पश्चिमेली मुलुकहरुले आलोचना पनि गरेका छन् । तर, युरोपेली, अमेरिकी र भारतले लोकतन्त्रको अभ्यासका नाममा कोरोना फैल्याएर नागरिककै ज्यान लिइरहेको कडा आलोचना पनि सुन्नुपरिहेको छ । जीवन नै नरहे लोकतान्त्रिक अभ्यासको के अर्थ भन्ने तर्क बलियो छ ।

गत पुसमा छिमेकी चीनको ऊहानबाट सुरु भएको कोरोना महामारीले नेपाललाई चैत ११ देखि बन्दाबन्दीमा लग्यो । न त चीनलेजस्तो स्रोत–साधन–प्रविधियुक्त अधिनायकत्व देखाउन सकियो न त न्युजिल्याण्ड र दक्षिण कोरियाजस्तो नागरिकहरु नै सचेत, सजग र सहयोगी बनेर रोग नियन्त्रणमा सरिक भए । परिणामस्वरुप भदौ ४ गतेदेखि राजधानीमै निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो । जनताको सहयोगी व्यवहारकै कारण चैत–वैशाखमा दैनिक ९० जना संक्रमित भएको न्युजिल्याण्डले दुई महिनाभित्रै नयाँ संक्रमण शून्यको अवस्थामा पु¥याएको घटनाबाट हामीले केही सिकेनौं ।

नेपाल अहिले परीक्षण व्यापक नगराउँदा पनि दैनिक सात सयभन्दा बढी संक्रमितको अवस्थामा छ । नेपालले चीन वा न्युजिल्याण्ड कसैको जस्ताको त्यस्तै अनुशरण गर्न सक्दैन । हामी स्रोत–साधन–प्रविधिले निकै पछाडि छौं । त्यसैले सचेत बनेर हिंड्ने र शरीरमा रोगप्रतिरोधी शक्ति विकास गर्ने विकल्प मात्र हाम्रा लागि सम्भव छ । घर–घरमा पाक्ने तीजको दरले पनि यही शक्ति बढाउन योगदान दिने आशा गर्नु स्वाभाविक हुनेछ ।