हवल्दार बने प्रदेशका सर्वोत्कृष्ट प्रहरी


न्युज अफ नेपाल,हेटौंडा ।

अस्थायी ट्राफिक प्रहरीपोष्ट सिन्धुलीमा कार्यरत् प्रहरी हवल्दार रामप्रसाद थपलिया साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफ्नो प्रत्यक्ष मातहत कार्यालयमा कार्यरत प्रहरीमध्ये उत्कृष्ट कार्य गर्ने एक प्रहरीलाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गर्ने कार्य थालनी गरेको हो ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पारी गलत क्रियाकलाप गर्न खोज्ने सवारीचालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गरेकोले उहाँबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै थपलियालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाका लागि प्रदेश प्रहरी कार्यालयअन्तर्गत् दस जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ प्रहरी कार्यालयबाट प्राप्त प्रहरी कर्मचारीको कार्य विवरणमघ्ये प्रहरी हवल्दार थपलियाको कार्यविवरण उत्कृष्ट पाइएकाले उहाँलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको हो ।

प्रहरीको मनोबल, साहस र हौसला अभिबृद्धि गर्न र प्रत्येक प्रहरीलाई रचनात्मक कार्यतर्फ स्वउत्प्रेरित गरी उत्कृष्ट कार्यसम्पादनका लागि स्वस्थ्य प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अभिप्रायले प्रदेश प्रहरी कार्यालयले असार महिनामा उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरिएको छ ।

कार्यविधिअनुसार बागमती प्रदेश प्रहरी कार्यालयले ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ र मातहत कार्यालयले हरेक महिना ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्नेछन् । प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीको लागि सबै मातहत कार्यालयले नामावली सिफारिस गर्नेछन् भने प्रदेश कार्यालयबाट छनौट भएकाबाहेक प्रहरी आआफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यबस्था कार्यविधिमा छ । कार्यविधि व्यबस्थाअनुसार साउनमा १५ प्रहरी पुरस्कृत भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् कार्यालयमा कार्यरत् प्रहरीबाट नागरिककेन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवाप्रवाह गराउने उद्धेश्यले मातहत प्रहरीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्यांकन गरी आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र गैरव्याबसायिक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने अवधारणाअनुरुप प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कार प्रदान गर्न सुरु गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।