पहिरोपीडितलाई कोरियाबाट सहयोग


गुल्मी, (नेस)
गुल्मीका पहिरोपीडितलाई दक्षिण कोरियामा रहेका नेपालीले झन्डै ३ लाख सहयोग गरेका छन् । गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिका–१ को मल्दीमा गएको भीषण बाढीपहिरोले घर बगाएर विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

इस्मा गाउँपालिका–१ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाइमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढी–पहिरोपीडितहरूलाई २ लाख ८४ हजार रुपियाँ दक्षिण कोरियामा रहेका नेपालीहरूबाट राहत संकलन गरी पठाएका थिए ।

दक्षिण कोरियाबाट जिल्लाका सञ्चारकर्मीहरु अनिता खत्री, प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले वडामा पुगेर उक्त नगद रकम वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरणपछि वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खत्रीले ५९ घरधुरी बाढी–पहिरोपीडितलाई हस्तान्तरण गरेका थिए ।