लमजुङमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि


शिक्षा पन्त,लमजुङ ।
लमजुङमा कार्यरत जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि छ । कन्ट्रयाक ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीको बुधबार रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ ।

संक्रमित हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका २२ बर्षीय पुरुष, धादिङको गंगाजमुना गाउँपालिकाका ३२ बर्षीय पुरुष र नवलपरासी कावासोती नगरपालिकाका ३२ बर्षीय पुरुष रहेका छन् । संक्रमित हुनेमा २ जना सिपाही र १ जना हवल्दार छन् । प्रहरीमै कोरोना संक्रमण देखिएपछि नागरिक त्रसित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार प्रहरीमा कोरोना देखिएपछि कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । उनीहरुको साउन ३२ गते स्वाब संकलन गरी गण्डकी प्रदेश प्रयोगशालामा पठाइएको थियो ।

४६ जना प्रहरी र ९ थुनुवा गरी ५५ जनाको स्वाब संकलन गरी पठाइएकोमा ८ जना प्रहरीको रिपोर्ट आउन बाँकी छ । ३ जना थुनवाको रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म लमजुङमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला ९ र पुरुष १ सय ७ जना छन् । हाल आइशोलेसनमा ५ जना पुरुष रहेका छन् । महिला ९ र १ सय २ जना पुरुष गरी १ सय ११ जना कोरोना निको घर फर्किएका छन् ।