२४ घण्टामा १५ जनाको ज्यान गयो


यमलाल भुसाल, बुटवल ।

२४ घण्टामा प्रदेश–५ मा विभिन्न घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् । प्रदेश–५ को प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मंगलबार अपराह्नदेखि बुधबार अपराह्नसम्ममा प्रदेशमा झुन्डिएर ९ जना, पानीमा डुबेर ३ जना बिष सेवन, करेन्ट लागेर र ट्रिपरको ठक्करवाट एक–एक जना गरी १५ जनाको ज्यान गएको छ । कोरोना महामारी फैलिएसँगै मानिसमा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको पाइएको छ ।

प्रहरीका अनुसार दाङ जिल्ला राप्ति गाउँपालिका–१ पाखापानीस्थित पूर्व–पश्चिम राजमार्गमा बा५ख १४५ नं. को ट्रिपरले सोही स्थान बस्ने रामबहादुर कुमालको छोरा वर्ष ७ को बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक इप्रका भालुवाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तु बाँणगंगा नपा–९ भर्लावास बस्ने वर्ष २० की प्रर्मिला सापकोटाले आफ्नै घरको माथिल्लो तलामा रहेको टिनको छानामा झुन्डिएर आत्महत्या गरेकी छन् । घरको काठको बलोमा झुन्डी आत्महत्या गरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट थप अनुसन्धान भइरहेको छ ।

त्यसै गरी कपिलवस्तु नगरपालिका–९ शीतलापुर घर भई रूपन्देही बुटवल उपमनपा–३ ज्योतिनगर कोठा भाडा लिई बस्ने वर्ष १८ का अमृत पासीले बिष सेवन गरी आत्महत्या गरेका छन् । सल्फास नामक विषादि सेवन गरी अचेत रहेका उनको उपचारका लागि प्रादेशिक अस्पताल लुम्बिनी बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोे ।

रूपन्देही तिलोत्तमा नपा–१४ बाग्दुरा बस्ने वर्ष १९ का मिथुन कहारले आफ्नै घरदेखि ७ सय मिटर दक्षिणतर्फ रहेको निमको रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै नगरको ११ नम्बर गणेशनगरस्थित वर्ष ६२ का मानबहादुर कुमालले आफ्नै घरको कोठाभित्र फलामको पाइपमा झुन्डिएर आत्महत्या गरेका छन् । त्यसै गरी लुम्बिनी सांस्कृतिक नपा–११ चिरपुरवा वस्ने वर्ष १६ की बालिकाले आफ्नो घरदेखि पश्चिममा रहेको बगैंचाको रुखमा झुन्डी आत्महत्या गरेकी छन् ।

घटनाको सम्बन्धमा इप्रका लुम्बिनीबाट थप अनुसन्धान भइरहेको छ । त्यस्तै रूपन्देहीकै मर्चवारी गापा–६ भिलरहवा बस्ने वर्ष २६ को उमेश कुर्मीको श्रीमती वर्ष २५ की सीमा कुर्मी आफ्नै घरको सुत्नेकोठाको सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेकी छन् ।

नवलपरासी सुनवल नपा–७ चारपाला बस्ने राजेन्द्र परियारको छोरा वर्ष ३ को नाबालक साथीहरूसँग माछा मार्न गड्यौला खन्न भनी गएको अवस्थामा खोलामा डुबी मृत्यु भएको छ । घरदेखि अन्दाजी २ सय मिटर उत्तरमा रहेको कचेरा खोलामा डुबी अचेत अवस्थामा उपचारका लागि लुम्बिनी प्रारदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्युठान नगरपालिका–२ हरिखोला बस्ने विष्णु सिंहका छोरा वर्ष २१ का विपीन सिंहले आफ्नै घरको कोठाभित्र सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेका छन् । बर्दिया गेरुवा गापा–६ सोनाहाफाँटा बस्ने वर्ष अन्दाजी २१ को शंकर सुनार आफ्नै घरको सुत्ने कोठाको धरी वलोमा झुन्डिएर आत्महत्या गरेको छ ।

त्यस्तै बर्दिया ठाकुरबाबा नपा–५ धोङरहवास्थित बबई सिँचाइ नहरको कुलोमा माछा मार्न प्रयोग गरिने ढरियामा शिशु मृत्य फेला परेको प्रहरीले जनाएको छ । ५ नम्बरकै सुनील कुँवरले आफ्नै घरको माथिल्लो तलाको आफू सुत्ने कोठाको बलोमा झुन्डी आत्महत्या गरेका छन् ।

बाँके बैजनाथ गापा–६ एच गाउँ बस्ने वर्ष अन्दाजी ७२ का गगनसिंह रावलको आफ्नै घरको छेउमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागि मृत्यु भएको छ । हाँगा काट्ने क्रममा लाइनको तारमा सट हुन गई घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएकोे छ ।

बाँके डुडुवा गापा–१ स्थित डुडुवा खोलामा नेपालगन्ज उमनपा–१७ बस्ने वर्ष ४३ का सनत बागवान माछा मार्न गएकोमा एक्कासि बेहोस भई भुइँमा लडेको र उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएकोमा चिकित्सले मृत घोषणा गेका थिए ।

पाल्पा रामपुर नपा–८ पीपलचौर बस्ने चोलाकान्त कुमालको छोरा वर्ष २० को विष्णु कुमालले आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुन्डिएर आत्महत्या गरेका छन् । घटनाको सम्बन्धमक इप्रका रामपुर पाल्पाबाट थप अनुसन्धान भइरहेको प्रदेश–५ का प्रहरी प्रवक्ता राजकुमार बैदवारद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।