नागढुंगा सुरुङ खन्ने कार्य थाल्दै


नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हँुदै छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य गर्ने सडक विभागले जनाएको छ ।

विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिनुभयो ।

सोहीअनुसार उक्त कम्पनीले निर्माण सामग्री, मेसिनहरुलगायतको बन्दोबस्ती गरिरहेको उहाँले बताउनुभयो । ‘ठेकेदार कम्पनीले तीन हप्तापछि मुख्य सुरुङ खण्ड शुरु गर्ने भनेर कार्ययोजना दिएको छ । अहिले कम्पनी त्यसकै तयारीमा छ’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार ठेकेदार कम्पनीले सुरुङ खन्न चाहिने मिसेनरी सामग्री ८० प्रतिशतको हारहारीलाई नेपाल ल्याइसकेको छ ।

कोरोना महामारीका कारण निर्माण सामग्री र जनशक्तिको समस्या भने आयोजनालाई चुनौतीका रुपमा खडा भएको महाशाखाका निमित्त प्रमुख भण्डारीले बताउनुभयो ।

त्यसबाहेक नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई अत्यावश्यक रुपमा चाहिने विस्फोटक पदार्थ खरिद प्रक्रिया थालेकाले कार्ययोजनाअनुसार काम हुनेमा ढुक्क रहेको उहाँले दाबी गर्नुभयो ।

सुरुङ खन्नका लागि तीन सय टन विस्फोटक पदार्थ ल्याउन रक्षा मन्त्रालयले सहमति दिएको आयोजनाले जनाएको छ ।

आयोजनालाई सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थको आवश्यकता पर्दछ । आयोजनालाई विस्फोटक पदार्थ खरिदका लागि सहमति ढिला प्राप्त भएको आयोजनाले जनाएको छ ।

‘मुख्य कुरा विस्फोटक पदार्थ ल्याउनुमा थियो । त्यसका लागि ढिलाइ भए पनि सहमति पाएको छ । अब विस्फोटक पदार्थ ल्याई छिट्टै सुरुङ खन्ने काम गर्र्छाैं’ –महाशाखाका निमित्त प्रमुख भण्डारीले बताउनुभयो ।

विस्फोटक पदार्थ दुई हप्ताभित्र ल्याइसक्ने उहाँले जानकारी दिनुभयो । अहिले ठेकेदार कम्पनीले कलभर्ट बनाउने, सुरुङ खन्ने तयारीको कार्य गर्दै आइरहेको छ ।

काठमाडौं उपत्यकाको मुख्य नाकाको रुपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङ मार्ग निर्माण गर्न लागिएको छ ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागिएको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्माआन्दो कर्पाेरेसनले पाएको छ ।

सुरुङको ठेक्का पाएको कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ ।

सुरुङ मार्गको निर्माणसँगै आयोजनाभित्र पहुँचमार्ग, पुल, कल्भर्ट, फ्लाई ओभर, अन्डरपास, सुरक्षा, दस्तुरलगायतका भवन जस्ता संरचना निर्माण गर्नुपर्दछ ।

दुई दशमलव सात किलोमिटरको सुरुङमार्ग, सडक मार्ग, सातवटा पुल, दुईवटा फ्लाई ओभर निर्माणको काम यस आयोजनाभित्र पर्दछ । काठमाडौंको तोतिपाखा हुँदै धादिङको सिस्नेखोलासम्म सुरुङ मार्ग निर्माण हुनेछ ।