इन्टरमिलान १० वर्षपछि उपाधि नजिक


मिलान, (एजेन्सी)
इटाली सिरी ए क्लब इन्टरमिलानले युरोपा लिगको फाइनलमा स्थान बनाउँदै १० वर्षपछि उपाधि नजिक पुगेको छ।
सोमबार राति भएको सेमिफाइनल खेलमा इन्टरमिलानले युक्रेनको क्लब साक्तार डोनेटस्कलाई ५–० ले हराएको छ। इन्टरमिलान २२ वर्षपछि युरोपा लिगको फाइनलमा पुगेको हो। टोलीले उपाधिका लागि स्पेनी ला लिगा क्लब सेभियासँग यही शुक्रबार राति आमनेसामने हुँदै छ। टोलीको जितमा रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले २–२ गोल गरेका थिए भने एक गोल डानिलो डिएम्ब्रोसीयोले गरेका थिए।

इन्टरमिलानका मेनेजर एन्टोनियो कोन्टेले टोलीले १० वर्षपछि उपाधि जित्न सक्ने बताएका छन्। कोन्टेले बिटी स्पोर्टलाई भने– ‘मेरा खेलाडीले राम्रो खेलिरहेका छन्। पहिले इन्टरमिलान सानदार टिम थियो। हाल १० वर्षपछि हामी ट्रफी उचाल्न सक्ने सम्भावनामा छौं। सेभिला यो प्रतिस्पर्धामा धेरै राम्रो छ। हामीसँग यो प्रतियोगितामा पहिलो पटकका लागि खेलिरहेका धेरै खेलाडी छन्। तर, उत्साह र सामथ्र्य भएका उनीहरू हाम्रा समर्थकहरूलाई सन्तुष्ट दिन चाहन्छन्।

इन्टरमिलानले हालै समाप्त इटाली सिरी ए मा उपाधि जित्न १ अंकले मात्रै वञ्चित भएको थियो। तर, टोलीले हाल युरोपा लिग जित्न लागेको छ। टोलीको सबैभन्दा बलियो पक्ष भनेको बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुको सानदार प्रदर्शन हो। उनले हाल लगातार १० युरोपा लिग खेलमा गोल गरेका छन्। उनले यस सिजनका लागि व्यक्तिगत ३३ गोल गरिसकेका छन्।

इटाली क्लबले अघिल्लो पटक २०१०–११ सिजनमा क्लब वल्र्ड कप र कोपा इटालिया उपाधि जितेको थियो। त्यसपछि टोलीको प्रदर्शन खस्किँदै गएको थियो। एन्टोनियो कोन्टेले टोलीमा आएपछि म्यानचेस्टर युनाइटेडबाट हटाइएका लुकाकु, एलेक्सिस सान्चेज र एस्ली योंग, टोटनहामका पँर्वमिडफिल्डर क्रिस्टियन इरिक्सेन र ऋणमा चेल्सीबाट आएका भिक्टो मोसेसको एउटा टिम बनाएका थिए।

यीमध्ये प्रिमियर लिग छोडेका लुकाकुले युरोपा लिगमा निकै प्रभावशाली खेल देखाएका छन्। अघिल्ला युरोपा लिगका १० खेलमा १८ गोल हुँदा उनको संलग्नता भएको छ। जसमा १४ गोल उनी आफैले गरे भने बाँकी ४ गोलमा एसिस्ट गरेका छन्। यदि, उनले फाइनलमा पनि गोल गरेमा ब्राजिली पँर्वस्ट्राइकर रोनाल्डोको ३४ गोलसँग बराबर गर्नेछन्।