विपद्मा परी २ सय ७१ ले ज्यान गुमाए


नेपाल समाचारपत्र, काठमाडौँ
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोले एउटा गाउँ पुरिँदा १८ जनाले ज्यान गुमाए भने ३९ जना अझै बेपत्ता छन् । त्यहाँ पहिरोले ३७ घर पुरिएको जनाइएको छ ।
वैशाख यता सिन्धुपाल्चोकको लिदीमा जस्तै विभिन्न भू–भागमा गएको बाढी, पहिरो र चट्याङजस्ता विपद्का कारण मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि वैशाख यता विपद्मा परी २ सय ७१ जनाले ज्यान गुमाइसकेका छन् । ७३ जना अझै बेपत्ता छन् । विपद्मा परी ३ सय ३० जना घाइते छन् ।
नेपालमा हुने यस्ता घटनाहरु जलवायुजन्य विपद्ले गर्दा बढी हुने गरेको विपद् विज्ञले जोड दिएका छन् । वातावरण तथा विपद् व्यवस्थापनविद् नवराज पोखरेलले वर्षभरि पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको समयमा पर्ने गरेकाले बढी क्षति हुने गरेको बताउनुभयो । यस्तो अवस्थामा उचित सावधानी अपनाउन नसकिँदा औषतभन्दा बढी क्षति व्यहोर्नु परिरहेको उहाँले बताउनुभयो ।
‘विपद्का घटना धेरै प्रकृतिको हुन्छ । हाम्रोमा जलवायुजन्य विपद् बढी हुने गर्दछ । मनसुनको समय औषतभन्दा धेरै पानी पर्ने भएकाले विपदको जोखिम धेरै हुने गरेको हो । यस बेला बढी सावधानी अपनाउनुपर्ने हुन्छ’ –उहाँले बताउनुभयो ।
मुलुकभित्र भइरहेको पहिरोको घटना राज्य संयन्त्रको व्यवस्थापकीय कमजोरीका कारण पनि एक भएको उहाँले औँल्याउनुभयो । यसले जसले गर्दा अनाहकमा नागरिकले क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ । ‘पहिरोको घटनामा राज्य संयन्त्रमा व्यवस्थापकीय कमजोरी देखिएकै हो’, उहाँले भन्नुभयो– ‘मनसुन सुरु भएकै दिन पर्वतमा पहिरोको घटना घटेपछि राज्यले सतर्कता अपनाउनुपथ्र्यो भने थप जोखिम हुन नदिन लाग्न पथ्र्याे, त्यो खट्केकै हो ।’
भूकम्पले थिलथिलो पारेको स्थान, भर्खरै खोलेको सडकको ट्रयाकमा अहिलेसम्म पहिरो देखिएको भन्दै सर्वसाधारणले पनि बस्न मिल्ने स्थान हो होइन भन्ने बुझ्नुपर्ने उहाँको भनाइ छ ।
‘यस्तो अबस्थामा नागरिक आफैँ पनि सचेत र सतर्क भएर आफू बसेको भूगोलको बारेमा जोखिम छ कि छैन भन्ने बुझ्नुपर्छ । राज्यले पनि यसमा नागरिकलाई सहयोग गर्नुपर्दछ’ –उहाँले भन्नुभयो ।
त्यस्तै राज्यका तीनै तहको सरकारले जोखिमजन्य स्थानको पहिचान गरी त्यहाँ मानवीय क्रियाकलाप, बस्ती बस्नेलाई हटाउने कार्य गर्दा धनजनको क्षति हुनबाट बचाउन सकिने उहाँले बताउनुभयो ।