रहेनन् राष्ट्रिय प्रेरणाका स्रोत

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे...


यदुप्रसाद भट्ट, काठमाडौं ।
आजीवन नेपाली राष्ट्रियतामा आम नागरिकलाई अभिप्रेरित गर्दै आएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार दुःखद निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ः५० बजे लैनचौरस्थित निजी निवासमा निधन भएको उहाँको छोरा राजीव घिमिरेले बताउनुभयो । उहाँ तीन दिनदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । मुलुक बन्दाबन्दीको अवस्थामा रहेदेखि नै छाती तथा श्वासप्रश्वासमा समस्या आएको घिमिरेको बुढ्यौलीका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विसं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा २ वर्ष कुलपतिका रुपमा रहेर कार्य गर्नुभएको थियो ।

राष्ट्रकविको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रकविको निधनमा संसारै रोएको तथा आफूलाई बढी मर्माहत बनाएकोे बताउनुभएको छ ।

काव्यक्षेत्रको अद्वितीय र विलक्षण प्रतिभा भएका घिमिरेको निधनले नेपाली तथा नेपाली साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रज्ञा प्रतिष्ठानले सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । त्यसै गरी वरिष्ठ साहित्यकार एसपी आसाले घिमिरेको निधनले आफूहरु टुहुरो भएको बताउँदै भन्नुभयो– ‘नश्वर शरीर छोडेर जानुभयो, राष्ट्रका लागि ठूलो क्षति भएको छ ।’

नेपाली सेनाले घिमिरेलाई मानार्थ रथीको सम्मान प्रदान गरेकाले उहाँको अन्त्येष्टि बुधबार मात्र गरिने भएको छ । मंगलबार रातभर उहाँकै निवासमा शव राखिने र यसको सम्पूर्ण व्यवस्थापन सेनाले गर्ने भएको छ । कोरोनाको संक्रमणलाई ध्यानमा राखेर बढी भीडभाड हुन नदिने तथा आज बुधबार राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाली साहित्य आकाशमा चम्किरहने नक्षत्रका रुपमा चिनिएका राष्ट्रकवि घिमिरेको गाउँछ गीत नेपाली, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपना जस्ता गीतहरु निकै चर्चित छन् । उहाँका कृतिहरु राष्ट्रिय भावनाले ओतप्रोत भएका छन ।

उहाँका नव मञ्जरी, गौरी, मालती–मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या आदि कृति निकै चर्चित छन् । बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाउँदै आएका घिमिरे बहुमुखी प्रतिभा भएका व्यक्ति हुनुहुन्थ्यो ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । जन्मिएको तीन वर्षमा मातृशोकमा परेका घिमिरेलाई २००४ सालमा जीवनसंगिनी गौरीले पनि छोडेर जाँदा पत्नीवियोगको पीडा बेहोर्नुप¥यो ।

६ वर्ष हुँदा अक्षर चिनेका घिमिरेले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नुभएको थियो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो । उहाँलाई विस.२०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । उहाँले २०५४ सालमा हिमालपारि हिमालवारिका लागि र २०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।