आरबी लेइप्जिग र पिएसजी आज भिड्ने

0
Shares

एजेन्सी ।युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाली समयअनुसार राति १२ः४५ बजे पहिलो सेमिफाइनल खेल हुँदैछ ।पोर्चुगलको लिस्बन सहरस्थित स्टाडियो डा लुइज रंगशालामा हुने आजको खेलमा जर्मन क्लब आरबी लेइप्जिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी आमनेसामने हुँदैछन् ।

लेइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने नयाँ टोली हो भने पीएसजी २५ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल खेल्दैछ । तर, दुवै टोलीले भने अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । यसपटक दुवै टोली इतिहास रच्ने दाउमा छन् ।

यसअघिका खेलहरूमा साना टिमले ठूला र प्रमुख उपाधि दावेदार मानिएका टिमहरूलाई अप्रत्यासित रूपमा हराउँदै आएकाले यस खेलको नतिजाबारे पनि अनुमान गर्न कठिन नै हुन्छ । तर, आजको खेलमा नेयेमार र क्लियन एम्बाप्पेको टोली पिएसजीलाई प्रमुख दावेदार मानिएको छ । पीएसजीका प्रशिक्षक थोमस टुचेलले आजको खेलमा स्टार स्ट्राइकर केलियन एम्बाप्पेले पूरै समय खेल्ने सम्भावना रहेको बताएका छन् । पछिल्लो पटक चोटका कारण उनको फिटनेसमा समस्या भएकाले उनले सब्सिच्युट खेलाडीका रुपमा मैदानमा आधा घण्टा खेलेका थिए ।

यदि एम्बाप्पे सुरुवाती ११ मा परेमा अर्का चर्चित खेलाडी नेयेमारलाई सजिलो हुने अनुमान गरिएको छ । यसअघि यी दुवैको साझेदारीमा यस सिजनको २५ खेलमा १९ गोल गरेका छन् । आजको खेलमा अर्का खेलाडी एञ्जल डी मारिया पनि फर्किएका छन् । उनी एक खेलको प्रतिबन्धमा परेका थिए । तर, पीएसजीका गोलकिपर कोलियन नाभास चोटका कारण टिममा हुने छैनन् ।

यता, ३३ वर्षीय प्रशिक्षक जुलियन नागेल्सम्यान लेइप्जिगलाई नयाँ गतिमा अघि बढाइरहेका छन् । च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनल पुग्ने सबैभन्दा कान्छा प्रशिक्षकको कीर्तिमान बनाएका जुलियन आज पिएसजीमाथि अप्रत्यासित जित निकालेर अघि बढ्ने दाउमा छन् । युवा खेलाडीले भरिभराउ लेइप्जिग आज पिएसजीका लागि खतरनाक टिम हुनसक्छ ।

यसअघि अन्तिम आठमा पिएसजीले इटालियन सिरी ए क्लब एट्लान्टालाई २–१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने लेइप्जिगले स्पेनिस एट्लेटिको मेड्रिडलाई पनि २–१ ले नै स्तब्ध बनाएको थियो । अन्तिम १६ मा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई र क्वार्टरफाइनलमा स्पेनिस क्लब एट्लेटिकोलाई हराएर अघि बढेको लेइप्जिग आज पिएसजीविरुद्ध उत्रिँदा बलियो मनोबलमा हुनेछ । यदि लेइप्जिगले पीएसजीको चुनौती पार गर्न सकेमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।