कटनाका दलितबस्ती उच्च जोखिममा


विमल विष्ट, डोटी

डोटीको दिपायल सिलगढी नगरपालिका–८ मा पर्ने कटना गाउँका दलित बस्तीका घर पहिरोको उच्च जोखिममा रहेका छन् । लगातार परिरहेको अविरल वर्षात्का कारण बस्ती माथिबाट खनिएको सडकमा पर्खाल नहुँदा ठूला ढुंगा र माटो दिनहुँ खस्न थालेपछि उक्त गाउँका बस्ती उच्च जोखिममा परेका हुन् ।

वर्षात्ले सडकमा भएका माटो र ढुंगा दैनिक घरमा खस्न थालेपछि आफ्ना घरहरु भत्किन थालेको र अन्य घर पनि जोखिममा रहेको स्थानीयबासी धनवीर कामी बताउनुहुन्छ । ‘घरमाथि पर्ने गरी सडक खनिएको छ, पर्खाल तथा जाली नहालेका कारण पहिरो आउन थालेपछि हाम्रा घरमा जोखिममा परेको छ ।’ –उहाँले भन्नुभयो ।

कम्तीमा पनि ३० घर–परिवार दलित बस्ती रहेको उक्त गाउँमा दैनिक सडकको पहिरा आउन थालेपछि स्थानीयबासी त्रासमा रात बिताउन बाध्य भएका छन् । राति पानी पर्दा पहिरो आउने डरले दैनिक जाग्राम बस्ने गरेको अर्का स्थानीयबासी कमलसिंह कामीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘विकास होला भनेर घर माथिबाट सडक काट्न लगायौं, अहिले पहिरोले रातभरि सुत्न दिँदैन कति बेला मरिन्छ भन्ने चिन्ताले जाग्राम बस्नुपरेको छ ।’

आकाशमा बादल लाग्दा होस् वा सामान्य पानी पर्दासमेत उक्त गाउँका दलित परिवारलाई वर्षात्ले घर भत्किने हो कि भन्ने त्रास हुने गरेको छ । पहिरो व्यवस्थापनका लागि पटक–पटक सम्बन्धित निकायलाई समस्या दर्शाउँदासमेत कुनै सुनुवाइ नभएको उनीहरूको गुनासोे छ ।

उता दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले सडकको पहिराले जोखिममा परेका कटना गाउँका दलित परिवारको समस्या समाधानका लागि नगरपालिकाबाट पहल भइरहेको बताउनुभयो । ‘कटना गाउँको पहिराको समाधानको विषयमा नगरपालिकामा खबर आएको छ, पहिरो रोकथाका लागि प्रक्रिया अगाडि बढेको छ, सम्भवतः समस्याको समाधान चाँडै हुनेछ ।’ –उहाँको कथन छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार जिल्लामा गएको साउन महिनामा मात्रै बाढी–पहिरोका कारण ७ को ज्यान गएको छ भने १० जना घाइते तथा नदीमा बगेर एक जना बेपत्तामा भएका छन् । त्यसै गरी पछिल्लो समय नयाँ सडक निर्माणदेखि अन्य विभिन्न कारणले यहाँका ग्रामीण बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा भएका कारण स्थानीयलाई हिजोआज चिन्ता बढ्न थालेको छ । भारी वर्षात् शुरू भएसँगै बाढी–पहिरोको त्रासले डेरा जमाउने गरेको सायल गाउँपालिका–२ सिर्माका स्थानीयबासी हरिबहादुर थापा बताउनुहुन्छ । उहाँका अनुसार उक्त वडाका मात्रै ३५ घर–परिवार पहिराको त्रासले गाउँ छोडेर विस्थापित भएका छन् ।

जिल्लाका विभिन्न २२ वटा स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानको पहिचानका आधारमा विभिन्न संघ–संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । सम्भावित दैवी प्रकोपका घटनालाई मध्यनजर गर्दै जिल्लामा विपद् पूर्वतयारीका विभिन्न कार्य पनि गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाको विपद् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ–संस्थालाई सम्भावित प्रकोप भइहाले उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।