म्याग्दीका नवआगन्तुक प्रजिअ अधिकारीको पत्रकारसँग भेटघाट

कानुन कार्यान्वयनका सवालमा कसैसँग सम्झौता नगर्ने भनाइ


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दी जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कानुन कार्यान्वयनका सवालमा कसैसँग पनि सम्झौता नहुने बताउनुभएको छ । हालै मात्र गृह मन्त्रालयबाट सरुवा भएर म्याग्दी आउनुभएका उहाँले आइतबार जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाटका क्रममा कानुनको कार्यान्वयनमा सम्झौता नहुने बताउनुभयो ।

नवआगन्तुक प्रजिअ अधिकारीले कानुनको सम्मान हुनुपर्ने बताउँदै कानुन कार्यान्वयनका लागि आफू दृढतापूर्वक लागिपर्ने स्पष्ट पार्नुभयो । उहाँले जिल्लामा प्रजिअको रुपमा रहँदा आफ्नो मुख्य काम भनेको शान्तिसुरक्षा तथा सुशासन कायम र विकास निर्माणमा सहजीकरण गर्ने भएको बताउँदै आफू राष्ट्रको सेवक, जनताको सेवक र कानुनको कार्यान्वयनकर्ता भएको बताउनुभयो ।

अहिलेको अवस्थामा म्याग्दी जिल्ला बाढीपहिरो र कोरोना भाइरसको दोहोरो चेपुवामा परेको भन्दै प्रजिअ अधिकारीले वर्तमान सन्दर्भमा सबै मिलेर विपद्को सामना गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै जिल्लाको विपद् व्यवस्थापनमा जिल्लास्थित राजनीतिक दल, स्थानीय तह, सरोकारवाला निकाय, सञ्चार जगत र सम्बन्धित सबैसँग समन्वय तथा सहकार्य गर्ने बताउनुभएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वदेशी नागरिकहरुको आवागमनलाई व्यवस्थित गरिने उहाँले जानकारी दिनुभएको छ । नवआगन्तुक प्रजिअ अधिकारीले मन्त्रालयबाट जिल्ला आउने क्रममा आफूले म्याग्दी जिल्ला रोजेर आएको भन्दै म्याग्दी जिल्लामा राजनीतिक संस्कार र एकताको जानकारी पाएको बताउनुभयो ।

उहाँले जिल्लावासीको सेवा र जिल्लाको उन्नतिबाहेक आफ्नो कुनै स्वार्थ नभएको हुँदा सबैको साथ र सहयोग लिएर जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्न लागिपर्ने बताउनुभयो । आफू म्याग्दी आउने क्रममा गण्डकी प्रदेश सरकार तथा मातहतका मन्त्रालयसँग आवश्यक समन्वय र भेटघाट गरेको बताउँदै प्रजिअ अधिकारीले जिल्लाको विभिन्न समस्याहरु समाधान गर्नका लागि पहल थालेको जानकारी दिनुभयो । उहाँले जिल्लामा विद्युतको सहज आपूर्तिका लागि आवश्यक पहल अगाडि बढाएको बताउनुभयो ।

पत्रकार तथा सञ्चारकर्मीले समग्र जिल्लाको अवस्था तथा समस्या र चुनौतीका विषयमा खबरदारी गर्नुपर्ने भन्दै प्रजिअ अधिकारीले परिवर्तन, विकास र सुधारका लागि पत्रकारको कलमहरु निरन्तर चल्नुपर्ने बताउनुभयो । उहाँले आफू हालै मात्र म्याग्दी जिल्ला आएको हुँदा जिल्लाको वस्तुस्थितिसहित समग्र अवस्थाको बारेमा बुझ्ने काम भैरहेको बताउँदै विगतमा मुगु जिल्लाको प्रजिअ रहँदाका अनुभवहरु समेत सुनाउनुभएको थियो ।

जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले भने जिल्लामा भैरहने विपद्का घटना, कोरोनाको अवस्था, मेलापर्व, विकास निर्माण, शान्तिसुरक्षा लगायतका विषयहरुमा जानकारी गराएका थिए । जिल्लाको विपद् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउँदै विकास निर्माणको काम गर्दा पुनर्विचार गर्नुपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले बताउनुभयो । उहाँले स्थानीय तह र जिल्ला प्रशासनका बिचमा समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।