कोरोना संक्रमितहरू समुदायमा खुलेआम घुम्दै,संक्रमणको खतरा बढ्यो


मोतीराम तिमल्सिना,काभ्रे ।

बैदेशिक रोजगारबाट फर्किएका तथा शहरबाट गाउँ फर्किएकाहरु निर्वाध हिडडुल गरेका कारण समुदायमा कोरोना संक्रमण फैलन थालेको छ । भुम्लु गाउँपालिकामा सोमबार थपिएका चार ब्यक्ति समुदायमा खुलेआम हिडिरहेका थिए । २०७७ साउन २६ गते १९ बर्षिय युवामा कोरोना पुष्टी भएको थियो । युवकसँगको सम्पर्कमा आएका चार जनामा संक्रमण देखिएको हो ।

भुम्लु गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष २८, वर्ष ३५, वर्ष ३६ र वर्ष ५२ का पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा संक्रमण हुनेहरुको संख्या ८० पुगेको छ । यस अघि ७६ जनामा संक्रमण भई ३२ जना निको भएर घर फर्किसकेका थिए ।

मण्डन देउपुर नगरपालिका वडा अध्यक्ष भुम्लु गाउँपालिका १० दोलालघाट बस्दै आएका थिए । उनमा समेत साउन २९ गते कोरोना पुष्टी भएको थियो । तिनै युवाको सम्पर्कमा पुगेका अन्य ब्यक्तिहरुमा समेत कोरोना हुन सक्ने आशंका गरिएको छ । यस अघि भुम्लुकै ३२ बर्षिय युवामा साउन १० गते कोरोना पुष्टी भएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।

समुदायमा फैलँदै गएको संक्रमणमा लार्पवाहि प्रमुख कारण देखिएको छ । स्थानीय सरकारले नागरिकहरुको निगरानी बढाउन नसक्दा जोखिम बढ्दै गएको हो । कुरियरमा काम गर्ने भन्दै ढाँटेका युवाका कारण भुम्लु गाउँपालिकामा कोरोना फैलिएको हो । उनी सहित संक्रमण हुनेहरुको संख्या भुम्लु गाउँपालिकामा ६ पुगेको छ ।

भारतबाट गाउँ फर्किएर झुटो बयान दिई खुलेआम हिडिरहेका युवाबाट अन्य ब्यक्तिहरुमा संक्रमण फैलिएको छ । भुम्लु गाउँपालिका कोलाँती घर भएका युवक भारतबाट फर्किए पनि काठमाडौमा कुरियरमा काम गर्ने बताउँदै गाउँमा खुलेआम हिडिरहेका थिए । उनिसँग आउने अर्का युवक अझै सम्पर्कमा छैनन ।