खोटाङका सबै हाटबजार बन्द


रामधन राई,खोटाङ ।

 लकडाउन हटाइएपछि सुरु भएको हाटबजारका कारण कोरोना संक्रमणको जोखिम वढेको भन्दै खोटाङका विभिन्न स्थानमा लाग्ने हाटवजार वन्द गर्ने निर्णय भएको छ । भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुशार जिल्ला प्रशासन कार्यालय खोटाङले हाटबजार बन्द गराउन निर्देशन दिएको हो ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

लकडाउनका समयमा बन्द रहेका हाटबजार लकडाउन खुलेपछि पुन: लाग्न थालेको छ । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो । जिल्लाको दिक्तेल,बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा,मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिक रुपमा हाटबजार लाग्ने गरेको छ ।

कोरोनाको संक्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ भने बढ्दो रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।