निरन्तरको वर्षाले भासियो मध्यपहाडी लोकमार्ग


न्युज अफ नेपाल,पर्वत ।

निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ । लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहा स्थित फलामखानी नजिकैको सडक भासिएको हो । पोखरा –बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ । भासिएको ठाउँको बाटो हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि सवारीहरु चल्ने गरेका छन् ।

कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो । छेउबाट सडकको मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रुपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । भदौ महिना सम्ममा सम्पन्न हुनुपर्ने सडक लक डाउनपछि निर्माण कार्य ठप्प छ । बर्षा सकिएपछि निर्माण कार्य पून शुरु गर्ने लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । यो भदौ सम्ममा र्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्ने गरि काम गरिएपछि लुम्ले खण्डमा काम अन्तिम चरणमा छ भने पर्वत खण्ड र कास्कीको हेम्जा खण्डमा काम सक्न अझै एक बर्ष भन्दा बढी समय लाग्नेछ ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको छ । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।