कोरोना विरुद्ध पर्वत प्रहरीको ‘एसएमएस’ अभियान


दुर्गाप्रसाद शर्मा,पर्वत ।

अन्य जिल्लाहरूमा कोरोना संक्रमितको संख्या बढ्दै पछि पर्वत प्रहरीले सचेतनाका लागि ‘एसएमएस’ अभियान शुरु गरेको छ । कोरोनाबाट बच्नका लागि तीन सोसल डिस्टेन्स, मास्क र सेनीटाइजर ‘एसएमएस’ प्रयोग गर्ने तीन वटा सुत्र अपनाउन अनुरोध गर्दै जनचेतनामुलक अभियान शुरु गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष सहितको सुरक्षा नकिायको टोलीले हरेक पसल पसलमा प्रहरी पुगेर कोरोनाको सतर्कताका विषयमा निगरानी गर्दै तीन वटा सुत्र प्रयोग गर्न अनुरोध गरिरहेका छन ।

५० जनाभन्दा बढीको संख्यामा बजारमा निस्किएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पसलमा डोरी टाँगेर राख्ने, मास्क लगाउने तथा बजारमा मास्क नलगाई हिड्नेलाई सम्झाउने र जरिवाना तिराउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

‘तीन वटा सुत्रको प्रयोगलाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि शुक्रवारदेखि प्रहरीले बजारमा उपस्थिति बाक्लो पारेको छ।’ उहाँले भन्नुभयो ‘तत्कालै पसल बन्द भने गराएका छैनौँ, तर सतर्कता नअपनाएको भएमा तोकिएको नियम अनुसार जरिवाना र कारबाही गर्ने छौँ।’

सतर्कताका लागि घुमेको टोलीमा सहभागी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा शर्माले हरेक पसलहरूमा पुगेर पहिलो दिन शुक्रवार सतर्कताका विषयमा अवगत गराइएको र पालना नगरेको पाइएमा पसल तथा आम सर्वसाधारणलाई पनि कारबाही गर्नुको विकल्प हुने भनेर सम्झाउने काम गरिरहेको बताउनुभयो ।

जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसी)को बिहीबार भएको बैठकले संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रुपमा लिँदै सुरक्षा ब्यबस्था कडा पार्ने निर्णय गरेको थियो । जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसी)को बिहीबार सम्पन्न बैठकले सुरक्षा ब्यबस्थालाई कडा पार्ने निर्णय गरेपछि सबै पालिकामा ६ बुँदे निर्देशन जारी गर्दै शुक्रबार देखि नै कार्यान्वयनमा ल्याइएको छ ।

छिमेकी भारतमा संक्रमणको दर विश्वकै तुलनामा उच्च देखिएको र भारतबाट पर्वतमा आउनेको संख्या हालका दिनहरुमा वढिरहेको अबस्थामा ‘निर्मम ढंगले’ कदम उठाउन आबश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘सबैतिरको अबस्थाले गर्दा पर्वतमा पनि सचेत नबनाउने हो भने भोली कसैले पनि संहाल्न नसकिने अबस्था आउन सक्छ।’ उहाँले भन्नुभयो ‘अब सबैले संयम हुन नसक्ने हो भने गाह्रो अवस्था आउन सक्छ।’

बिद्यालयहरु खोलेको पाइएकाले बिद्यालय सञ्चालन नगर्न, भौतिक दुरी कायम गर्न, बिकास आयोजनाहरुमा तत्काल बाहिरबाट कामदार नल्याउन समेत निर्देशन दिइएको छ । नाकाहरुमा कडाई गरिएको छ भने पास बितरण बन्द गरेपछि बजारमा समेत चहलपहलमा कमि आएको छ । मेला महोत्सब नगर्न, चाडबाड मनाउनका लागि भीड जम्मा नगर्न समेत अनुरोध गरिएको छ । प्रहरी, सेना र शसस्त्र प्रहरीलाई समेत चिकित्सकको उपस्थितिमा प्रशिक्षण दिएर परिस्थिति गम्भीर भएकोले उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।