सिन्धुलीका ४ पालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा कोरोना संक्रमितको दर बढ्न थालेसँगै जिल्लाका स्थानिय तहहरुले धमाधम अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न थालेका छन् ।

जिल्लामा अहिले सम्म दुई नगरपालिका र दुई गाउपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी र गोलन्जोर गाउपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा र पसलहरु एक हप्ता देखि १५ दिन सम्म् बन्द गरेका छन् । कोरोना सङ्क्रमण समुदायमा फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन कमलामाई नगरपालिकाले एक हप्ता सटडाउन गरेको छ । नगरपालिका कार्याल्य तथा मातहतका सबै कार्यालयहरुको अत्यावश्यक बोहकका सबै सेवाहरु गत साउन २७ गते राती १२ बजे देखि एक हप्ताको लागि बन्द गरेको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

एक हप्ता सम्म औषधी, दुध पसल, एम्बुलेन्स,दमकल, सरसफाई व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरेको नगरप्रमुख खत्रीले बताउनुभयो ।‘कोरोनाको संक्रमण बढ्दै गएपछि सदमरमुकाम समेत रहेको यस नगरपालिकामा कोरोनाको जोखिम बढ्दै गएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न पहिलो चरण्मा एक हप्ताको सटडाउन लागु गरिएको छ । अवस्था हेरेर यो बन्दाबन्दी थप गर्नु पर्ने आवश्यकता पर्न सक्छ ।’ नगरप्रमुख खत्रीले भन्नुभयो । नगरप्रमुख खत्रीका अनुसार नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ । विपी राजमार्गमा संचालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोकलगाइएको नगरप्रमुख खत्रीको भनाई छ । जिल्लाको सुनकोसी गाउँपालिकाले शुक्रवार राती १२ बजे देखि आगामी भदौं १३ गते सम्म १५ दिनका लागी अत्यावश्क बाहेकका सेवा बन्द गरेको छ ।

सुनकोसी गाउँपालिका गाउँकार्यपालिकाको विहिवार बसेको बैठकले भदौ १३ गते सम्म गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिईने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको सुनकोशी गाउपालिकाका उपाध्यक्ष दिर्वसिँङ मुक्तानले जानकारी दिनुभयो । ‘गाउपालिकाको विद्यालयमा कार्यरत सिराहाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टी भएपछि कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गराएका हौं । विद्यालयमा कार्यरत शिक्षक लकडाउनको समयमा घर जानुभएको थियो ।

बैकल्पिक माध्यमबाट पठनपाठन गर्ने भएपछि उहाँ विद्यालयमा फर्किनुभएको थियो । शिक्षक घरबाट आएपछि क्वारेन्टाईनमा बस्नुभएको थियो । क्वारेन्टाईनमा बस्दा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।’उपाध्यक्ष मुक्तानले भन्नुभयो । अत्यावश्यक सेवा अन्र्तगतका खाद्यन्न तथा तरकारी पसलहरु प्रत्येक दिनको ३ बजे देखि साँझ ६ बजे सम्म ३ घण्टा मात्र खुल्ला गर्न दिईने उहाँले बताउनुभयो । गाउँपालिका मातहत रहेका सबै विद्यालयहरुले सुरक्षाका मापदण्ड अपनाई विद्यालय भन्दा वाहिर हप्ताको एक पटक मात्रै वैकल्पिक सिकाई मार्फत पठनपाठन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

जिल्लाका कमलामाई, तिनपाटन, फिक्कल लगाएतका छिमेकी स्थानिय तहहरु र छिमेकी जिल्लामा समेत कोरोनाको संक्रमण फैलिरहेकाले दुधौलीमा पनि संक्रमण फैलिन सक्ने भन्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । दुधौली नगरपालिका क्षेत्रमा साउन ३० गते शुक्रवार राती १२ बजे देखि भदौं ६ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । सिमा नाकामा कडाई, माक्स प्रयोगमा अनिवार्य गराउने, जमघट वा भिडभाड हुने खालका क्रियाकलाप गर्न नगरपालिकाले निषेध गरेको छ ।

समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन बिहान १० बजे सम्म पसलहरु सञ्चालन गर्न पाइने र विहान १० बजे पछि औषधी पसल बाहेक अन्य सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको नगर प्रमुख राउनले बताउनुभयो । गोलन्जोर गाउपालिकाले पनि शुक्रवार राती १२ बजे देखि भदौ ५ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । गोलन्जोर गाउपालिका ५ का एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि गाउपालिकाले अत्यावश्क बाहेकका सबै सेवा एक हप्ता सम्मको लागि बन्द गरेको हो । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

शुक्रवार मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टीभएसँगै सिन्धुली कोरोना संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।