कोरोनालाई जितेका १७ जना डिस्चार्ज


न्युज अफ नेपाल, भद्रपुर ।

मेची अञ्चल अस्पताल भद्रपुरमा उपचाररतमध्ये १७ जना कोरोना भाइरस सङ्क्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । सङ्क्रमितहरुमध्ये एक महिला र अन्य पुरुष रहेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पिताम्बर ठाकुर लगायतको टिमले पुष्पगुच्छा, अबिर र निरोगिताको प्रमाणपत्र दिएर बिदा गरेका थिए ।

झापाको अर्जुनधारा नगरपालिकाका २ , भद्रपुर र बिर्तामोडका एक÷एक, दमकका २, गौरिगञ्ज गाउँपालिकाका २, कचनकबल गाउँपालिकाका ३, मेचीनगरपालिकाका ३ र सुर्योदय नगरपालिका ईलामका २ जना रहेको डाक्टर ठाकुरले जनाउँनुभयो ।

१८ जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जना बच्चाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले बताउँनुभयो । अस्पतालमा २५ वेडको आइसोलसन सञ्चालनमा आएको छ ।

अस्पतालको एउटै भवनमा अन्य बिरामी र कोरोना सङ्क्रमितका बिरामी पनि राखेर उपचार गरिरहेको छ । अस्पतालमा २२ जना उपचाररत थिए । साउन १९ गतेदेखि अस्पतालमा उपचार शुरु गरिएको थियो ।

शुक्रबार झापामा थपिएका ७ जना कोरोना सङ्क्रमित सहित ४ सय २८ पुगेको छ, भने उपचारपछि निको भएर ३ सय ७७ जना घर फर्किसकेका छन् ।