एकै वडाका ४० घर ‘सिल’


न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरको बकैया गाउँपालिकाले वडा–४ का ४० घर सिल गरिएको छ । मकवानपुरका ३७ जनामा देखिएको कोरोना भाइरस संक्रमित देखिएकोमा बकैया गाउँपालिका वडा–४ का २ जना एकै परिवारका हुन् । साउन २५ गते पुष्टि भएका २३ जनामध्ये बकैया गाउँपालिका वडा–४ की एक महिला थिइन् ।

बिहीबार पुष्टि हुने ३७ जनामा २ जना बकैया–४ का संक्रमित महिलाको परिवारका सदस्य थिए । संक्रमितको परिवारको सदस्यमा कोरोना पुष्टि भएसँगै संक्रमितको घरवरिपरि रहेका अन्य घर, सहकारी संस्था, दूध संकलन केन्द्र तथा वडा–४ को प्राथमिक स्वास्थ्य केन्द्रसमेत सिल गरिएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।

संक्रमित पुगेका स्थानलाई मध्यनजर गर्दै ती स्थानहरु सिल गरिएको उपाध्यक्ष बोलखेको भनाइ छ । सिल गरिएको स्थानमा केही दिन आवतजावत बन्द रहने बताइएको छ । उपाध्यक्ष बोलखेका अनुसार हेटौंडा आइसोलेसनले संक्रमित राख्ने स्थान नभएको जानकारी पाएसँगै आफूहरु आइसोलेसन बनाउनेतर्फ लागेको बताउनुभयो । उहाँले बकैया–४ स्थित महेन्द्र माविको क्वारेन्टाइनलाई आइसोलेसन बनाउनेबारे छलफल भइरहेको बताउनुभयो ।