पीएसजी सेमिफाइनलमा, नेयमारले अवार्ड सुम्पे

0
Shares

एजेन्सी ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

हारको संघारमा पुगेको फ्रेन्च क्लब पिएसजीले अन्तिम ४ मिनेटमा नाटकीय रूपमा गोल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली समयअनुसार बिहीबार बिहान भएको क्वार्टरफाइनल खेलमा पीएसजीले इटालियन सिरी ए क्लब एट्लान्टमाथि २–१ को सनसनीपूर्ण पुनरागमन जित निकाल्यो । यससँगै पीएसजी सेमीफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

पहिलोपटक च्याम्पियन्स लिग फुटबलको नकआउट चरण खेलिरहेको एट्लान्टाले भने पीडादायी हार भोग्दै आफ्नो उपाधि यात्रालाई क्वाटरफाइनलमा नै टुंगाएको छ । पोर्चुगलको लिस्बन सहरस्थित स्टाडियो डा लुइज रंगशालामा भएको खेलमा एट्लान्टाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उक्त अग्रता ८९औं मिनेटसम्म कायमै रहेको थियो । तर, त्यसपछि एट्लान्टाले लगालग २ गोल बेहोर्यो ।

एट्लान्टका लागि २६औं मिनेटमा मारियो पासालिचले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । पासालिचले डुभान जपाटाले बक्सभित्र दिएको क्रस पासमा आकर्षक गोल गरेका थिए । तर, ६०औं मिनेटमा पाब्लो सराबियाको स्थानमा क्लियन एमबाप्पे मैदान छिरेपछि आक्रमण बढाएको पिएसजीले अन्तिम ४ मिनेटको अन्तरालमा २ गोल गर्‍यो ।

पीएसजीका लागि ९०औं मिनेटमा माक्र्विनहोसले नेयमारको पासमा गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए । लगत्तै ३ मिनेटपछि नै एमबाप्पेको पासमा इरिक माक्सिम चोउपो–मोटिङले गोल गरेपछि पीएसजीले नाटकीय रुपमा खेलको नतिजा २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यता, हारसँगै यो सिजन शानदार प्रदर्शन गर्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरण खेलिरहेको एट्लान्टाको उपाधि सपना चकनाचुर भयो । सेमिफाइनल नजिक पुगेको एट्लान्टा दोस्रो हाफको अन्तिम केही मिनेट सम्हालिन नसक्दा जितबाट बञ्चित बन्यो ।

उक्त खेलमा नेयमार म्यान अफ द म्याच घोषित भएका थिए । तर, उनले इरिक माक्सिम चोउपो–मोटिङलाई ‘यसको हकदार तिमी हो’ भन्दै तत्कालै उनलाई उक्त अवार्ड सुम्पे ।