मेयर फोरमको बैठकलाई अनुमोदन गर्दै स्थानीय तह

0
Shares

सुनील महर्जन, काठमाडौं
उपत्यकाका विभिन्न स्थानीय तहले आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको औपचारिक रुपमा निर्णय गर्न थालेको छ ।
बढ्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले त्यस्तो निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाका १८ नगरपालिकाको संयुक्त फोरमले अत्यावश्यकीय सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णयलाई अनुमोदन गर्दै विभिन्न स्थानीय तहको कार्यपालिकाको बैठक बसेर १५ दिनका लागि सामान्य सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिको कार्यपालिका बैठकले सामान्य सेवा बन्द गर्ने औपचारिक निर्णय नगरे पनि अधिकांश वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा बन्द भएको घोषणा गरिसकेको छ । ‘मेयर फोरमको निर्णय नैतिक दृष्टिले महत्वपूर्ण भए पनि औपचारिक रुपमा सामान्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छैन’ –प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भन्नुभयो ।
मेयर फोरमको बैठकको निर्णयअनुरुप गोदावरी नगरपालिकाले अत्यावश्यक सेवाहरुबाहेक सामान्य सेवाहरु १५ दिनका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।
यसै गरी महालक्ष्मी नगरपालिकाले पनि एक विज्ञप्ति जारी गरेर सामान्य प्रकृतिका सेवाहरु बन्द गरिएको जनाएको छ । त्यस्तै कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले विज्ञप्तिमार्फत कोरोना संक्रमण रोकथाम र नियन्त्रणबाहेकका सम्पूर्ण कार्यहरु बन्द गरेको निर्णय सार्वजनिक गर्नुभएको छ । अत्वाश्यकीय सेवा बाहेक अन्य सेवा बन्द गरिएपछि सिफ्टअनुसार कार्यालय आउने व्यवस्था मिलाइए पनि कर्मचारीहरु घरबिदामा बस्न थालेको पाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारको निर्णयअनुरुप कर्मचारीलाई दुई सिफ्ट काममा खटाइएको बताउनुभए पनि कार्यालयमा कर्मचारीको उपस्थिति निकै पातलिएको पाइएको छ । अत्यावश्यक सेवा बन्द गरिएसँगै सेवाग्राहीलाई सरकारी कार्यालयको प्रवेशमा कडाइ गरिएको छ भने मालपोत, स्थानीय तह र वडा कार्यालयहरुको गेट नै बन्द गरेर भित्र केही कर्मचारी मात्र बसिररहेको देखिन्थ्यो । लगनखेलस्थित मालपोत कार्यालयमा भेट भएका सेवाग्राहीले अकस्मात् मालपोत कार्यालय बन्द गरिएको भन्दै रिस पोखिरहेको पनि देखिन्थ्यो । बैंकको ऋण लिएर जग्गा फुक्का वा रोक्का गर्न आएका ती सेवाग्राही निराश भई फर्किएका थिए ।
संघीय सरकारले मुलुकव्यापी लकडाउन नगर्ने नीतिसहित कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले क्षेत्रगत रुपमा सिल गर्न सक्ने व्यवस्था मिलाएको छ । जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ कडाइ गर्ने क्षेत्रगत नीतिअनुसार स्थानीय तह र स्थानीय प्रशासनले विभिन्न उपत्यकाका विभिन्न स्थानमा सिल गरेको छ ।
यसैबीच महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।