लमजुङमा ६ हजार बढी बिरामीलाई निःशुल्क उपचार सेवा


शिक्षा पन्त,लमजुङ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट ६ हजार बढी विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । अस्पतालबाट गत आर्थिक बर्ष २०७६/०७७ मा ६ हजार ६ सय २६ जना विरामीले निःशुल्क सेवा लिएका हुन् । महिला ४ हजार ५ सय २५ र पुरुष २ हजार १ सय १ जनाले सेवा लिएका अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको भनाई छ ।

उहाँका अनुसार गत आर्थिक बर्ष २०७६/०७७ मा ८९ लाख १५ हजार ८ सय १६ रुपियाँ बराबरको रकमले अस्पतालमा आएका विरामीलाई निःशुल्क सेवा प्रदान गरिएको हो । आर्थिक बर्ष २०७५/०७६ मा ४४ लाख २० हजार ९ सय ६६ रुपियाँ बराबरको सेवा निःशुल्क प्रदान गरिएको थियो ।

उक्त रकमको सेवा अस्पतालमा आएका ३ हजार ९ सय ४४ जनालाई प्रदान गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालमा आर्थिक बर्ष २०७४/०७५ मा ३ हजार ८ सय ३७ जनालाई ४९ लाख ८ हजार १ सय ७७ रुपियाँ बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा ३९ लाख ९० हजार ९ सय ६८ रुपियाँ बराबरको निःशुल्क उपचार १ हजार ८ सय ९७ जनालाई दिइएको हो । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ ।