काभ्रेका तीन नगरको साझेदारीमा पुण्यमाता ‘करिडोर’


मोतीराम तिमल्सिना,काभ्रे ।

बनेपा, धुलिखेल र पनौती नगरपालिका जोड्ने साझेदारीको दोश्रो परियोजना पुण्यमाता करिडोर निर्माण कार्यको शिल्यान्यास गरिएको छ । शहरी विकास तथा भवन निर्माण पूर्व मन्त्री गोकुल बास्कोटाले बुधबार आयोजनाको शिल्यान्यास गर्नु भएको हो ।

परियोजनाका लागि १४ करोड ४७ लाख ५५ हजार इष्टमेट गरिएकोमा ६ करोड २७ लाख ९५ हजार ९ सय ६ रुपैयामा ठेक्का सम्झौता गरिएको छ । २०७७ माघ १४ भित्र ६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको आयोजनामा पुण्यमाता करिडोरका लागि पहिलो चरणमा करिडोरको क्षेत्र पहिचान गरिनेछ । डिमार्केसन वाल, फिलिङ्ग वक्र्स सहित २३ किलोमिटर क्षेत्रफलको कार्य हुनेछ ।

पहिलो खण्ड बनेपा नगरपालिका नाला शेरा करुणामाई देखि सरस्वती दोभान हुँदै बनेपा पुलबजार पुलसम्म सडक स्तरोन्नती कार्य हुनेछ । जसका लागि स्टमेट गरिएको ४ करोड ८२ लाख रुपैया मध्ये २ करोड ८ लाख रुपैयामा सम्झौता भएको छ । दोश्रो खण्ड पुलबजार बनेपा देखि खड्पुपुलसम्म सडक स्तरोन्नती हुनेछ ।

जसका लागि ४ करोड ८२ लाख रुपैया इस्टमेट गरिएकोमा २ करोड १ लाख रुपैयामा सम्झौता भएको छ । त्यस्तै तेश्रो खण्ड खड्पु पुलदेखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोन्नती कार्यका लागि ४ करोड ८२ लाख इस्टमेट गरिएकोमा २ करोड १८ लाख रुपैयामा सम्झौता भएको छ । तीनवटा खण्डको अलग अलग बोलपत्र आब्हान गरिएको भए पनि एउटै कम्पनीसँग सम्झौता भएको आयोजनाका प्रमुख मचाकाजी महर्जनले जानकारी दिनु भयो ।

करिडोर निर्माण कार्यको शिल्यान्यास कार्यक्रममा पुर्व मन्त्री बास्कोटाले जिल्लाको विकास निर्माणको गति अघि बढिरहेकाले केहि वर्षमै ठुला ठुला आयोजनाहरु सम्पन्न हुने बताउनु भयो । मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, एयरपोर्ट, खानेपानी लगायतका विकास आयोजनाले जिल्लाको समृद्धीको यात्रा शुरु भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, शहरी विकास तथा भवन निर्माण विभागका सचिव मधुसुदन अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तत्कालिन नेकपा एमालेले जिल्ला अधिबेशनबाट १८ बुँदे विकास आयोजनाहरु प्रस्ताव गरेको बताउँदै तीन नगरको साझेदारी विकास आयोजना खानेपानी पछि करिडोर दोश्रो भएको बताउनु भयो ।

करिडोर निर्माणले नयाँ शहरी क्षेत्र निर्माण हुने बताउँदै नगर प्रमुख ब्याञ्जुले साझेदारी निर्माणले तीन नगरको निर्माण शुरु भएको बताउनु भयो । स्मार्ट सिटी, फोहोरमैला ब्यवस्थापन, ब्यवस्थित शहर निर्माण लगायतका कार्य शुरु भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले हरेक वर्ष बनेपा डुब्ने पुण्यमाता क्षेत्रको विकासले बनेपा नगर सुन्दर हुने बताउनु भयो । करिडोर निर्माणले तीन नगरको विकासमा नयाँ आयाम थपिने नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले करिडोर विकास जिल्लाको समृद्धीको प्रमुख आयोजना भएको बताउनु भयो ।

बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उपमहानिर्देशकहरु, जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।