बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुका दुई जनाको मृत्यु

0
Shares

यमलाल भुसाल,बुटवल ।

बुटवलको औद्योगिक क्षेत्रमा रहेको धागो कारखानामा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराईरहेका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवाका ४२ वर्षिय कृष्ण कुमार गुप्ता र कृष्णनगरका २५ बर्षीय प्रदिप तेलीको उपचारकै क्रममा मंगलवार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरु दुवैजनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । डा. थापाका अनुसार गुप्तामा कोरोना संक्रमणको पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

भारतको मुम्बईबाट केही दिन अघि घर आएका तेलीमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।