नेकपाका बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश


यमलाल भुसाल,बुटवल ।

बुटवल उपमहानगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय १८ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी र कार्यकर्तालाई दमन गरेको भन्दै पार्टी छाडेको उनिहरुले बताएका छन ।

नेकपा पार्टी एकिकरण हुनु अगावै तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १ सय २२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य गरि २ सय १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा केही साविक माओवादीका पनि रहेको बताईएको छ ।

उनीहरुलाई बुधबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराउनु भएको हो । मल्लले बुधबार नै एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २ सय १८ जनाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

उहाँले जारी गरेको बिज्ञप्तीमा स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।

पार्टी प्रवेशका क्रममा पनि उहाँले नेकपा फूटको संघारमा पुगेको र नीति तथा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अंगाडी बढाउन खोजिएकाले लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली काँग्रेसमा प्रवेश गरिएको बताउनु भयो । मल्लले नेपाली काँग्रेसमा प्रवेशसंग आफू सहित पार्टी प्रवेश गर्ने सबैको नामावली समेत प्रदान गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाकले नेपाली काँग्रेस स्थापना कालदेखिनै लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल्य मान्यतामा अडिग रहेको बताउँदै पार्टीको मुल्य मान्यता र सिद्धान्तबाट कतिपनि विचलिन हुन नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको औंल्याउँदै कम्युनिष्ट पतनको बाटोमा अंगाडी बढेको दावी गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले कम्युनिष्ट सरकारमा पुगेका व्यक्तिले जनताका काम भन्दा पनि व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेका कारण कम्युनिष्ट पार्टी प्रति जनताको बिश्वास गुम्दै गएको बताउनु भयो । कार्यक्रममा पार्टीका महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ (क) का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने र आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न समेत आग्रह गर्नुभयो । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव दुर्गा बहादुर खत्रीको सञ्चालनमा भएको थियो ।