पाल्पाको भगवती जात्रा सामान्य किसिमले मनाइयो


न्युज अफ नेपाल,पाल्पा ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने नेपाल अँग्रेज युद्धसँग जोडिएको दुइ सय २ वर्ष पुरानो श्री ७ रणउज्जेश्वरी भगवति रथयात्रा सुरक्षात्मक उपाय अपनाउदै अति सामान्य किसिमले पाल्पा जिल्ला सदरमुकाम तानसेनमासम्पन्न भएको छ ।

विगतका वर्षहरुमा सिन्दुर जात्रा गरी धुमधामका साथ लावा लस्करका साथ सम्पन्न गरिदै आएको रथयात्रा यस वर्ष भने धुमधाम नगरी केवल औपचारिकतामा सीमित पार्दै क्षमा पूजा सहित मन्दिर वरिपरिमात्र मनाउदै सम्पन्न भएको हो ।

यस वर्ष कोरोना जोखिम भएका कारण सरकारले समेत कुनै जात्रा महोत्सव गर्न निषेध गरेका कारण रथयात्रा र बजार परिक्रमा नगरि वरिपरिमात्र भगवतिको प्रतिमूर्ति हातमा लिएर घुमाउदै सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

वर्षाै देखि निरन्तर रुपमा मनाइदै आएको पाल्पाको भगवती जात्रा नेपाली वीरता र राष्ट्रियताको प्रतिकका रुपमा मानिन्छ । तत्कालीन पाल्पा गौँडाका तैनाथवाला कर्णेल उजिरसिंहले नेपाल अग्रेज युद्धमा जानु अघि भगवति मातासँग प्राथना गरी विजय प्राप्त होस भनि भाकल गरेको र भाकल वमोजिम सवै युद्धमा पराजय भोगेको नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरे पछि यो जात्राको परम्परा चलको मानिन्छ ।

युद्ध जितेको खुशीयालीमा जात्रा निकाल्ने र भगवतिको मूर्ति रथमा राखेर नगर परिक्रमा गराउने प्रचलन थियो । वुधवार विहान ११ः३० बजेको साइतमा नित्यपूजा गरी मूर्ति निकालिएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । अघिल्ला वर्षहरुमा यस जात्रामा मन्दिरभित्र पशुवली दिएर भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रम गर्ने चलन रहेकोमा अहिले कोरोना महामारीले गर्दा नित्यपूजाको बाहेक सबै बलिहरु बन्द गरेको समितिले जनाएको छ ।

त्यसैगरी जात्राको अघिल्लो दिनमा जाग्राम वस्ने, विहान सर्व साधारणले पूजाआजा गर्ने दिउसो साइत निकाली सेना, प्रहरी, कर्मचारी,व्यापारी, वुद्धिजीवि, शिक्षक विद्यार्थी र सर्वसाधारण समेतको उपस्थितिमा वाजागाजा सहित नगर परिक्रमा गरी गरी साँझ ४.३० बजे पुनः मन्दिरमै रथ बिसर्जन गर्ने परम्परा रहेकामा सवै कार्यक्रम स्थगित भएका छन् ।

मन्दिर र परिसरमा मंगलवार निर्मलीकरण गरी विहान सुरक्षात्मक उपाय अपनाउदै सर्वसाधारण र भक्तजनले पूजाआजा गरेका छन भने दिउसो सीमित व्यक्तिको उपस्थितीमा भिडभाड नगरी निकै सरल पारामा मन्दिर परिसरभित्रै जात्रा सम्पन्न भएको हो ।
यसैगरी जात्राको अवसरमा प्रदेश सरकारको निर्णय वमोजिम पाल्पा जिल्ला भर नै लागू हुने गरी सार्वजनिक विदा दिइएको थियो ।