सान्चो जर्मन क्लबमै रहने


म्युनिख, (एजेन्सी)
जाडोन सान्चोलाई म्यानचेस्टर युनाइटेडले जसरी नि क्लबमा ल्याउने लक्ष्य राखे पनि बोरुसिया डर्टमुन्डले सान्चो जर्मनमै रहने बताएको छ। बुन्डेसलिगा क्लब डर्टमुन्डले सान्चोका लागि अनुबन्धको समय १० अगस्टसम्म डेटलाइन राखेको थियो। जसअनुसार उनले अर्को सिजनमा पनि डर्टमुन्डबाट खेल्नेछन्।
डर्टमुन्डले इंग्लिस फरवार्ड सान्चोका लागि १ सय मिलियन पाउन्डभन्दा बढी मूल्य तोकेको छ। तर, युनाइटेडले भने त्यति रकम तिर्न नसक्ने बताउँदै आएपछि सान्चो युनाइटेडको हातबाट फुस्केको हो। डर्टमुन्डले नयाँ सिजनका लागि २० वर्षीय फरवार्डलाई टोलीमा राख्दै सोमबारै स्वीट्जरल्यान्डमा प्रशिक्षण क्याम्प शुरू गरिसकेको छ। त्यहाँ डर्टमुन्डले दुई अभ्यास खेल खेल्दै छ।
सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट १० मिलियन पाउन्डमा डर्टमुन्ड पुगेका थिए। सान्चोले डर्टमुन्डका लागि हालै सम्पन्न जर्मन बुन्डेसलिगामा १७ गोल गर्नुका साथै १७ एसिस्ट गरेका थिए।