वार्ता र बैठक दुवै स्थगित

होम क्वारेन्टाइनमा बस्दै नेकपाका नेताहरु


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला वार्ता र बैठक दुवै स्थगित भएको छ । वार्ता र बैठक स्थगित गरेर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो रणनीति बनाउने कार्यमा लागेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठकमार्फत अगाडि बढनु पर्ने अडानमा रहनुभएको छ भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि स्थायी समिति बैठकबाटै जारी विवाद छिनोफानो गर्नुपर्ने अडान अगाडि सार्दै आउनुभएको छ ।

पार्टीको विवाद संवाद नहुने अवस्थासम्म आइपुगेकोप्रति कार्यकर्तामा निराशा छाएको छ । पार्टी विभाजन हुने खतरा बढेको भन्दै नेकपाका ६१ जना सांसदहरुले आफूहरु कुनै पनि पक्षमा नलाग्ने भन्दै हस्ताक्षर अभियान अगाडि बढाएका छन् । तर सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि शीर्ष तहमा भने संवाद नै नहुने अवस्थामा पुगेको छ ।

देशभर बढेको कोरोना संक्रमण पछिल्लो चरणमा उपत्यका काठमाडांैमा पैmलिन शुरु गरेसँगै नेकपाका शीर्ष नेताहरु पीसीआर परीक्षण गराएर होम क्वारेन्टाइनमा बसेका छन् । प्रचण्डको बाहिरी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमित भएको पुष्टि भएपछि पीसीआर परीक्षण गराएर प्रचण्ड निवासमै बस्नुभएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पीसीआर रिपोर्ट नेगेटिभ आएपछि भेटघाटलाई पातलो बनाउनुभएको बताउनुभएको छ । ‘खासै भेटघाट गर्नुभएको छैन, पार्टीको जारी विवाद समाधान गर्न अनौपचारिक रुपमा नेताहरुसँग छलफलमा हुनुहुन्छ’ –सापकोटाले भन्नुभयो ।

त्यसै गरी नेकपाका महासचिव विष्णु पौडेलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएसँगै उहाँ पनि हाल होम क्वारेन्टाइनमा रहनुभएको छ ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुले आफू निकटका पत्रकारसँगको अन्तरक्रियामा ओलीविरुद्ध कडा टिप्पणी गरेपछि ओली र प्रचण्डबीच साउन २० यता संवाद हुन सकेको छैन ।

शीर्ष नेताहरुबीच दूरी बढ्दै गएपछि सामाजिक सञ्जालमा आरोप–प्रत्योपमा नेताहरु उत्रिएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप देखिएको छ । दुई अध्यक्षबीच जारी विवादमा सहमति जुटेपछि बैठकले निरन्तरता पाउने आशा नेताहरूले गरे पनि दुई अध्यक्षबीच सहमति बन्न नसक्दा सचिवालय र स्थायी कमिटीको बैठक दुवै अन्योलमा परेको छ ।

पार्टीको जारी विवाद समाधान गर्न दबाब दिने उद्देश्यसहित कुल १ सय ७४ सांसदमध्ये पहिलो चरणमा ६१ जनाले हस्ताक्षर अभियान अगाडि बढाए पनि प्रभावकारी बन्न सकेको छैन । पार्टी फुटको विरुद्धमा सांसदहरूले हस्ताक्षर गरी नेतृत्वलाई दबाब दिने उद्देश्यसाथ अभियान चलाए पनि त्यसमा पनि ‘गुट’को छाया परेको देखिन्छ । दुई अध्यक्षबीच विमति बढेपछि सहमतिको उपायसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले साउन १३ गते अगाडि सारेको छबुँदे प्रस्तावले पनि नेकपाको विवाद समाधान गर्न सकेको छैन ।

नेकपाका स्थायी समिति सदस्य मणि थापाले पार्टीभित्र देखा परेको विवाद दुवै जना अध्यक्षले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हिजो पार्टी एकता दुई अध्यक्षले चाहँदा भएको हो, अहिले पार्टीभित्र देखा परेको विवादको समाधान पनि दुई अध्यक्षसँग छ, गम्भीरतापूर्व छलफल गरेर पार्टी र कार्यकर्ताको भावनाअनुसार निर्णय गरेर अगाडि बढ्नुको विकल्प छैन ।’