विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाइने


न्युज अफ नेपाल,हेटौंडा ।

विद्यालयबाट आइसोलेसन हटाउने निर्णयअनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन् । आइसोलेसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्रावास भवनमा स्थानान्तरण गरिने भएको हो ।

गौरीटार रंगशालाको छात्रावासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभयो । स्थान अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो । प्रदेशमा कोरोना संक्रमण फैलन सक्नेतर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्री युवराज दुलालले छात्रावाससँगै निर्माणको अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आबश्यकताअनुसार निर्माण गरिने जानकारी दिनुभयो ।हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले यसको व्यबस्थापनमा जनशक्ति, आर्थिकलगायत काममा सहयोग हुने बताउनुभयो ।

निरीक्षणमा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईं, हेटौंडा अस्पताल अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यबस्थापन समितिले सोमबार विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो ।