होम आइसोलेसनको जिम्मा स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई


न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा शुरुका एकजना संक्रमित हुँदा जसरी सरकारले खोजी खोजी घरमै एम्बुलेन्स पठाएर अस्पताल भर्ना गरि अस्पतालकै आईसोलेसनमा राख्थ्यो अब त्यो अवस्था रहेन । कोरोना संक्रमितको संख्या सरकारी अस्पतालले धान्न नसक्ने र प्राईभेट अस्पतालले सकेसम्म नभित्र्याउने नीति लिएका कारण सरकारले अब कोरोना संक्रमित हुने सामान्य अवस्थाका व्यक्तिलाई होम आइसोलेसन गरेर राख्न सक्ने मापदण्ड बनाएको छ ।

मापदण्ड अनुसार होम आइसोलेसनमा बसेका संक्रमितको अनुगमन, उपचारका लागि स्वास्थ्यकर्मीका साथ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत परिचालन गर्ने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले बताउनुभयो ।

संक्रमितको संख्या बढ्दै गएको र स्वास्थ्यकर्मीहरु पनि संक्रमित संख्या बढ्दै गएको अवसथामा एक जना स्वास्थ्यकर्मीले ५० जना सम्मको निगरानी गर्नुपर्ने हुन सक्छ । एक जना संक्रमित हेरेबापत स्वास्थ्यकर्मीलाई दैनिक २ सय दरले पारिश्रमिक उपलब्ध गराउने व्यवस्था रहेको डा.अधिकारी बताउँनुहुन्छ ।

यसमा स्वास्थ्यकर्मीले मात्र नभ्याउने भएकोले महिला स्वास्थ्य स्वयंसेविकालाई ज्वरो र साधारण स्वास्थ्य चेक जाँचको जिम्मेवारी दिनेगरि निर्देशिका तयार पारेको डा. अधिकारी बताउनुहुन्छ । निर्देशिकामा स्वास्थ्यकर्मीले फिल्डमै गएर या टेलिफोन मार्फत भएपनि दिनमा २ पटक संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिनुपर्ने व्यवस्था रहेको छ । परिवारका सदस्यले पनि ज्वरो र उच्च रक्तचाप भए नभएको नापेर जानकारी गराउन सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।