२० लाख रुपैयाँ लागतको जगन्नाथ भ्यु–टावर निर्माणमा ढिलाई,काम सुरु गरेको तीन वर्षमा ७० प्रतिशत मात्रै सकियो

0
Shares

प्रताप बानियाँ,म्याग्दी ।

पर्यटकीय सम्भावना बोकेको केभहिल अर्थात् गुफाको डाँडामा निर्माणाधीन अवस्थामा रहेको भ्यु–टावरले अझै पूर्णता पाउन सकेको छैन । स्थानीय तहले पर्याप्त बजेट छुट्याउन नसक्नु, उपभोक्ता समितिले समयमा काम नगर्नु र कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा जगन्नाथ भ्यु–टावरको निर्माणमा ढिलाई भएको हो ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित केभहिलको डिलमा भ्यु–टावर निर्माणको काम जारीरहेको छ । तीनवर्ष अघि आर्थिक वर्ष २०७४/७५ बाट भ्यु–टावर निर्माणको काम सुरु गरिए पनि अहिलेसम्म भ्यु–टावर निर्माणले पूर्णता पाउन नसकेको हो । वडा र नगरपालिकाले समयमै पर्याप्त मात्रामा बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गराउन नसक्दा भ्यु–टावर निर्माणमा ढिलाई भएको हो ।

जगन्नाथ मन्दिरको प्रचारप्रसारसहित गाजनेमा पर्यटन बढाउने उद्देश्यले केभहिलमा भ्यु–टावर निर्माणकार्य अगाडि बढाइएको थियो । तर समयमै बन्न नसकेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खासगरी वडा कार्यालय र बेनी नगरपालिकाले भ्यु–टावर बनाउन नसकेको स्थानीयवासीले आरोप लगाए ।

बेनी नगरपालिकाले भन्दा पनि पछि मंगला गाउँपालिकाले पर्यटकीयस्थल बराङ्जाको झाँक्रीपानी र रघुगंगाले राखुभगवतीको रुईसेमा भ्यु–टावर निर्माण गरिसकेको अवस्थामा बेनी नगरपालिकाले भने अहिलेसम्म पनि भ्यु–टावर बनाउन सकेको छैन । गाजनेमा भ्यु–टावर निर्माणका लागि आर्थिक वर्ष ०७४/७५ मा बेनी नगरपालिकाबाट एकलाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

भ्यु–टावर निर्माणका लागि नगर प्रमुख, उपप्रमुख, तत्कालीन प्रजिअसहितको उपस्थितिमा शिलान्यास गरिए पनि थप काम हुन सकेन । यसैगरी ०७५/७६ मा पाँचलाख रुपैयाँ बजेट विनियोजन भएकोमा भ्यु–टावर निर्माणको करिब ५० प्रतिशत काम सकिए पनि बजेट अपुग भएको थियो ।

गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा कोरोनाका कारण जारी लकडाउनले गर्दा समयमै जनशक्ति र निर्माण सामग्री पु¥याउन नसक्दा निर्माणको काममा समस्या भएको जनाइएको छ । त्यस्तै भ्यु–टावर निर्माणको जिम्मेवारी लिएका व्यक्तिले पनि समयमै काम नगर्दा बजेट फ्रिज भएकाले काम गर्न नसकिएको जगन्नाथ भ्यु–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताउनुभयो ।

यता निर्माण व्यवसायी रवि बानियाँले भने उपभोक्ता समितिको ढिलाई, नगरपालिकाले समयमै स्टमेट नबनाउनु र लकडाउनले गर्दा भ्यु–टावर निर्माणमा समस्या भएको बताउनुभयो । कुल ३६ फिट उचाई रहेको भ्यु–टावरको १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र ७ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भागहरु छन् ।

एकपटकमा करिब २५ जनासम्म चढेर अवलोकन गर्न सकिने क्षमताको भ्यु–टावरका सबै संरचनाहरु स्टिल स्टक्चर अर्थात् (फलाम)को प्रयोग गरिने भएको छ । भ्यु–टावर निर्माणको लागत स्टिमेटअनुसार कुल २० लाख ६९ हजार पाँचसय ५६ रुपैयाँ रहेको छ ।