कोरोना भन्दै निजी अस्पतालले बिरामी नलिँदा झापामा एक युवकको मृत्यु


न्युज अफ नेपाल,भद्रपुर ।

कोरोना लागेको बिरामी भन्दै निजी अस्पतालले उपचार गर्न नमान्दा झापामा एक युवको अकालमा ज्यान गएको छ । झापा कन्काई नगरपालिका ५ का १७ वर्षीय रोशन सुनारको मङ्गलबार विहान ज्यान गएको हो । अस्पताल कुदाउँदा कुदाउँदै छोराको ज्यान गएको मृतका बुवा तारा सुनारले आरोप लगाउँनुभयो । सुनारको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

केहीदिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका सुनारको झापाका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको ताराको भनाइ छ । छातीमा बलले लागेपछि घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । समस्या आएपछि सोमबार विहान सुरुङ्गा स्थित डाइगोनिष्ट क्लिनीकामा लगेका थिए । केही आराम भएपछि साँझ साढे ७ बजे तिर श्वासप्रश्वासमा समस्या आएपछि सुरुङ्गाकै मेरीगोल्ड अस्पतालमा लगेका थिए ।

अस्पतालले यहाँ हुदैन अन्यत्रै लैजानु भनेपछि परिवारले विर्तामोडमा रहेको मनमोहन, विर्तासिटी र कन्काइ अस्पतालमा उपचारका लागि आए । त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो । कोरोना भाइरसको सङ्क्रमणको शङ्का गरेर ती अस्पतालले रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दिए ।

मङ्गलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे । मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो । तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरसहितको सघन उपचार चाहियो ।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भेन्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो । त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे । त्यहाँ इमरजेन्सी कक्षमा उनको विहान ६ बजे मृत्यु भएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्ड डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

मृतक सुनारमा कोरोना भाइरसको सङ्क्रमण छ÷छैन भनेर परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरिएको र साँझसम्ममा रिपोर्ट आउने डा.ठाकुरले बताउँनुभयो । शवलाइ पोष्टमार्टम घरमा राखिएको उहाँले जानकारी दिनुभयो । परिक्षण नेगेटिभ आएमा परिवारको जिम्मा दिइने छ भने पोजेटिभ आएमा सरकारले लागू गरेको मापदण्ड अनुसार हुने उहाँको भनाइ छ ।