भयावह बन्दै कोरोना

न्यायाधीशमा कोरोना, अदालतसहित केही वडा सिल

0
Shares

सरोज यादव, विराटनगर

कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिएपछि विराटनगर महानगरपालिकाले ९ नम्बर वडाको केही क्षेत्रलाई सिल गरिएको छ ।

विराटनगरको मध्य बजारमा पर्ने गुद्री बजार आसपासको क्षेत्रमा कोरोना संक्रमण व्यापाक भएपछि गएरातिबाट प्रशासनले सवारीसाधन तथा मानिसको आवत–जावतलाई पूर्णरूपमा रोक लगाएको हो ।

सो वडामा आइतबार मात्र एकै परिवारका ११ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति मोरङको बैठकले कडाइ गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

अहिलेसम्म ४२ जना कोरोना संक्रमित भेटिएको र २ जनाको मृत्यु भएको ९ नम्बर वडाको हनुमान मन्दिर पश्चिममा भट्टिमोड, उत्तरमा शनिमन्दिर र दक्षिणमा ट्राफिकचोकसम्म ७२ घण्टाका लागि सिल गरिएको छ ।
गुद्री बजारसँग जोडिने लिंक सडकहरूबाट आवत–जावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएर सबै सडकमा प्रहरीले ढाट लगाएको छ । वडा प्रहरी कार्यालय विराटनगर (क) का डीएसपी वेदप्रकाश गौतमको नेतृत्वमा खटिएको प्रहरीले सर्वसाधारणलाई घरबाहिर ननिस्कन सूचीत गरिरहेको छ ।

उता बूढीगंगा–१ को पनि आरती स्ट्रिप्स उद्योग रहेको क्षेत्रलाई लक्षित गरेर कडाइ गरिएको छ । पुष्पलाल चोक पश्चिममा कोशी राजमार्ग, उत्तरमा टंकीसिनुवारी र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवत–जावतमा पूर्णरूपमा रोक लगाइएको प्रशासनले जनाएको छ । आरतीमा कार्यरत रहेका २२ जनामा कोरोनाको संक्रमण देखिएपछि उद्योग नै सिल गरिएको छ ।

त्यस्तै मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि तीन दिन अदालत पूर्ण रूपमा बन्द गरेर सेनिटाइज गरिने अदालतका सूचना अधिकारी पौडेलले बताउनुभयो । अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङका लागि विराटनगर महानगरपालिकालाई भनिएको पनि उहाँले बताउनुभयो ।