सर्लाहीमा पुनः लकडाउन

0
Shares

पुष्पा थापा, सर्लाही
समुदायमा नै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय सीसीएमसीको आइतबार मलंगवामा बसेको बैठकले जिल्लाभर एक साताका लागि निषाधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन निषेध गरेको छ । सीसीएमसीको भौतिक दूरी कायम गर्दै मास्क लागाएर, स्वास्थ्य, विद्युत्, दूर सञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषिकार्यबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाबाट हाल हुँदै आएका सबै खाले सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेल जनाउनुभयो ।

पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्दा जिल्लाका ठूला व्यापारिक केन्द्रका बरहथवा, मलंगवा, ईश्वरपुर, लालबन्दीलगायतका जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पाइएकाले निषेधाज्ञा जारी गरेको हो ।

समुदायमा कोरोना संक्रमण फैलिसकेको भन्दै स्थानीय प्रशासनले संक्रामक रोग निवारण ऐन–२०२८ को दफा ६ (३) तथा ऐन–२०२० लागू गरी निषेधाज्ञा जारी गरेको बताएको छ । सीसीएमसीको बैठकले भारतबाट नेपाल प्रवेश गर्न नागरिकलाई सिमानामा कडाइका साथ नियमन गर्ने र प्रवेश गरेकाहरूलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने व्यवस्था मिलाउन भनिएको छ ।

समुदायमा नै कोरोना संक्रमण फैलिसक्दा पनि स्थानीयले बन्दाबदीलाई बेवास्ता गर्दा संक्रमण झनै बढ्न सक्ने भएको छ । कोरोनाका कारण सर्लाहीमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ८ सय १० जना संक्रमित छन् ।